Paschim Express
चुरे पहाडको काखमा छटपटिएको मलास, सुविधाको अभावले पीडामा स्थानीय

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका-७ अन्तर्गत पर्ने मलास क्षेत्र भौगोलिक रूपमा कञ्चनपुर जिल्लासँग नजिक रहेपनि प्रशासनिक रूपमा डडेल्धुरामा समाविष्ट छ । तर, सुविधाको हिसाबले हेर्दा मलासका स्थानीयहरू विकासको उज्यालोबाट अझै टाढा छन् । ग्रामिण सडक, बिजुली, खानेपानी, स्वास्थ्य सेवा जस्ता आधारभूत आवश्यकतामा मलासवासीको कठिनाइ झन् चुलिँदै गएको छ ।

७९ वर्षीय स्थानीय जेष्ठ नागरिक दत्तु बोहरा भन्छन्, "हाम्रो गाउँलाई कञ्चनपुरमा गाभिदिए हामीलाई सहज हुन्थ्यो । बिहानै महेन्द्रनगर गएर बेलुका घर फर्कन सकिन्थ्यो, तर हाल लालढुंगा जानै दुई दिन लाग्छ ।" सामाजिक सुरक्षा भत्ता लिने जस्ता साना कामका लागि समेत स्थानीयहरू महेन्द्रनगरका बैंक जान बाध्य छन् ।

मलास क्षेत्र डडेल्धुरा सदरमुकामभन्दा ११५ किलोमिटर टाढा छ भने परशुराम नगरपालिकाको लालढुंगा बजारसम्म ३० किलोमिटर यात्रा गर्नुपर्छ।  तर महेन्द्रनगरबाट भने मलास जम्मा १६ किलोमिटरको दूरीमा रहेको छ । नजिकै कञ्चनपुर भए पनि मलासवासी प्रशासनिक झमेलाले अझै डडेल्धुरासँगै बाँधिएका छन् ।

सडक भए पनि गाडी छैन, बिजुलीको प्रतीक्षा

सडक सञ्जालले मलासलाई छोएको केही वर्ष भएपनि यातायातको सेवा सुचारु छैन । हल्का वर्षा हुँदा नै चुरेको भिरालो सडक अवरुद्ध हुन्छ । हालसम्म बिजुली पुगेको छैन, जसका कारण स्थानीयहरू इञ्जिनको प्रयोग गरेर पिठो पिस्न बाध्य छन् । स्थानीय जनक धामी भन्छन्, "बिजुली छैन, गहुँ पिठो पिस्न प्रतिकेजी ११ रुपैयाँ पर्छ, जब कि महेन्द्रनगरमा सात रुपैयाँमै मिल्छ ।"

33-1738755212.jpg
 

नगर प्रमुख भरत बडायर जोशीका अनुसार मलासमा बिजुली पुर्याउने काम गत वर्षदेखि थालिएको छ । केही पोल गाडेर तार तानिसकिएको भए पनि चुरे पहाडको भू-संरचना कमजोर भएकाले पहिरोले पोल ढाल्ने समस्या देखिएको छ ।

स्वास्थ्य र शिक्षामा  समस्या, दैनिक उपभोग्य वस्तुमा पनि महँगी

मलासमा एउटा आधारभूत विद्यालय, एउटा मावि, र एउटा स्वास्थ्य चौकी मात्रै छ । उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीलाई अन्यत्र जानुपर्ने अवस्था छ । 'सामान्य बिरामी परे पनि १० हजार रुपैयाँ खर्चेर महेन्द्रनगर वा अन्य शहर पुग्नुपर्ने बाध्यता छ' स्थानीय धनबहादुर धामीले भने ।

महेन्द्रनगरबाट मलाससम्म सामान ढुवानी गर्दा एक कुन्टलको भाडा १,००० रुपैयाँ लाग्छ । मलासबाट महेन्द्रनगर गएका खसी-बाख्राबाट पनि यात्रुसरह भाडा लिइन्छ ।

नगरपालिकाले समस्या समाधान गर्न चाहँदा पनि बजेट, स्रोत, साधनको अभावले गति लिन सकेको छैन । नगरप्रमुख जोशी भन्छन्, "मलासको सडक निर्माण, बिजुलीको विस्तार, र पहिरो रोकथामका लागि निरन्तर प्रयास गरिरहेका छौं । तर, प्राकृतिक चुनौतीहरूसँग जुध्न अझै ठूला योजनाहरू आवश्यक छन् ।"

मलासका स्थानीयहरू आधारभूत सुविधाको अभावमा कठिनाइ झेल्दै आए पनि उनीहरूको माग भने स्पष्ट छ 'बिजुली, स्वास्थ्य सेवा, सडकको स्तरोन्नति, र महेन्द्रनगरसँग सरल पहुँच ।' अहिलेको अवस्थामा मलासवासीको जीवन संघर्षमय छ, तर उनीहरू परिवर्तनको अपेक्षामा छन् ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update