Paschim Express
डडेल्धुरामा छोराको हत्या योजना बनाएको आरोपमा बुवा पक्राउ

डडेल्धुरा : डडेल्धुरामा ८ वर्षीय छोरा भरत बोहराको हत्या गरि खाडलमा पुर्ने कार्यमा संलग्न रहेका बुवा पक्राउ परेका छन्। छोराको हत्या गरि फरार रहेका जिल्लाको आलिताल गाउँपालिका-८ को पल्टेगुडीका गजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

फरार प्रतिवादी बोहरालाई घरबाटै पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। छोरा भरतको हत्या गर्न लगाएको भन्दै उनी फरार प्रतिवादीको सूचीमा थिए।

बोहरालाई असोज ३० गते प्रहरीले उनकै घरबाट पक्राउ गरेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए ।

२०७९ पौष ३० मा घरेलु हिंसाका कारण भरतले ज्यान गुमाउनु परेको थियो। आमा कलमति र सौतेनी आमा जानकीको निरन्तरको कुटपिटबाट मृत्यु भएका उनलाई खाल्डोमा पुरिएको अवस्थामा प्रहरीले उत्खनन गरेर शव निकालेको थियो।

भरतको हत्या योजनाकार गजेन्द्र थिए। रोजगारको सिलसिलामा भारत रहेका गजेन्द्रले जेठी श्रीमती कलमतिलाई ‘म घरमा आउँदा सम्म तेरो छोरा नमारे तँलाई मार्ने’ भन्दै धम्काउने गरेेको भन्दै कलमतिले बयान दिएकी थिइन्।

कलमति र जानकी पुर्पक्षका लागि जिल्ला कारागार डडेल्धुरामा रहेका छन्। मृतक बालक भरत आलितालको समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्यययनरत थिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update