Paschim Express
परराष्ट्रमन्त्री आरजुको आग्रहपछि विपिन रिहाईको विषय प्राथमिकतासाथ उठाउने इरानी विदेशमन्त्रीको प्रतिवद्धता

काठमाडाैं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानी विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरी हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् ।

बिहीबार राति भएको वार्तामा मन्त्री राणाले विपिनको रिहाइ सुनिश्चित गर्न इरानी पक्षबाट पहल गर्न अनुरोध गरिन् । इरानी विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग हुने आगामी वार्तामा विपिनको रिहाइको विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन् ।

इसराइल र हमासबीच माघ ६ गते ४२ दिनका लागि युद्धविराम भएको थियो। सो अवधिमा हमासले १८ जना बन्धकहरूलाई मुक्त गरिसकेको छ, जसमा इसरायलबाहेक अन्य मुलुकका नागरिकहरू पनि छन् ।

युद्धविरामपछि परराष्ट्रमन्त्री राणाले मध्यस्थकर्ताको भूमिका खेलिरहेका कतारी अधिकारीहरूसँग पनि विपिनको रिहाइबारे छलफल गरेकी थिइन् । यसअघि, उनले इजिप्टका विदेशमन्त्री तथा इसराइली विदेशमन्त्रीसँग समेत फोनवार्ता गरी जोशीको रिहाइका लागि कूटनीतिक पहल गर्न आग्रह गरिसकेकी छन् ।

यसैबीच, इसराइलका लागि नेपाली राजदूत डा. धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायली राष्ट्रपतिसँग फोनवार्ता गरी विपिन जोशीको रिहाइका लागि पहल गर्न अनुरोध गरेका थिए ।

मन्त्री राणाको सचिवालयका अनुसार हमासको नियन्त्रणबाट विपिन जोशीलाई मुक्त गराउन नेपाल सरकार कूटनीतिक पहललाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update