
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी भएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार, धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्दै आएकी किशोरी बिहीबार साँझ जबरजस्तीकरणीको शिकार भएकी हुन् ।
घटनाको प्रारम्भिक अनुसन्धान अनुसार, विद्यालयबाट घर फर्किने क्रममा एक १८ वर्षीय युवकले किशोरीलाई चक्कु देखाएर धम्क्याएका थिए । जीवन जोखिममा पर्ने डरले उनी युवकसँग जान बाध्य भएकी थिइन् । युवकले उनलाई आफ्नो घरमा लगेर जबरजस्तीकरणी गरेको र त्यसपछि फरार भएको प्रहरीले जनाएको छ ।
पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे जानकारी गराएकी थिइन्। घटना सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय कैलालीले किटानी जाहेरी दर्ता गरी युवकको खोजी तीव्र बनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार, घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ ।
प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइसकेको छ भने अभियुक्त पत्ता लगाउने र कानुनी कारबाही अघि बढाउने प्रक्रिया तीव्र बनाएको छ ।
स्थानीय बासिन्दा र अधिकारकर्मीहरूले पीडितलाई न्याय दिलाउन प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।