
डडेल्धुरा । नेपालको लोकप्रिय फ्रेन्चाइच रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’काे 'ब्लाइन्ड अडिसन'मा डडेल्धुराका २२ वर्षीय प्रज्वल कार्कीले शानदार प्रस्तुति दिएका छन् । उनकाे प्रस्तुति सबैलाई चकित पार्दै चारै कोचको ध्यान आकर्षित गरेको हाे । उनको प्रस्तुति ‘मनै खायो डढेलोले’ को रूपमा प्रस्तुत भएपछि चारै कोचहरूले कुर्सी टर्न गरेर उनलाई आफ्नो टीममा लिने इच्छा प्रकट गरेका थिए ।
जिल्लाको अमरगढी नगरपालिका–५ घर भएका प्रज्वल अहिले काठमाडौंमा बस्दै आएका छन् । उनी सानो उमेरदेखि गायनमा रुचि राख्दै आएका थिए । संगीतप्रति उनको गहिरो मोह छ, र उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिएका छन् । उनका लागि यस यात्रामा बुवा प्रेरणादायी स्रोत बनेका छन् । उनी हाल ३ महिनादेखि काठमाडौंमा संगीतको प्रशिक्षण पनि लिइरहेका छन् ।
गीतार बजाउनमा पनि उनी दक्ष छन् । प्रज्वलको आगामी यात्रा र संगीतको दुनियाँमा उनले गर्ने नयाँ उपलब्धिहरूलाई सबैले धेरैकै उत्सुकताका साथ पर्खिरहेका छन् ।