
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको निधन भएको छ। उनको निधनमा गाउँपालिकाले सोमबार (आज) शोक विदा दिएको छ। प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाका अनुसार गाउँपालिकाभित्रका अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द रहनेछ ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाँडाकोटका स्थायी बासिन्दा तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन मालिकार्जुनका अध्यक्ष अवस्थीको भारतको लखनउमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी हुन आमासहित जाँदै गर्दा उनलाई गाडीले ठक्कर दिँदा घटनास्थलमै गम्भीर घाइते भएका थिए । अस्पताल पुर्याएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
समाजसेवी तथा उद्यम विकास संयोजक अवस्थीको असामयिक निधनप्रति धेरैले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको निधनले गाउँ नै शोकमा डुबेको छ ।