
डडेल्धुरा । डडेल्धुरा अस्पताललाई जर्मन सरकारको आर्थिक सहयोग अन्तर्गत केडब्लुएफको प्राविधिक सहयोगमा निर्माण गरिएको स्टाफ नर्स र चिकित्सक निवास हस्तान्तरण गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले ती भवन अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा सचिव पोखरेलले डडेल्धुरा अस्पतालमा दरबन्दी रहेका तर अन्यत्र बसेका डाक्टरहरूलाई फिर्ता बोलाइने बताएका छन् । साथै, फिर्ता नभए कारबाही गरिने चेतावनी दिए ।
उनले डडेल्धुरा अस्पतालमा दरबन्दी भएपनि विशेषज्ञ चिकित्सकहरू टिक्न नसक्नुको कारण राजनीतिक दबाबको अभाव रहेकोसमेत बताए । सचिव पोखरेलका अनुसार अन्यत्र राजनीतिक दबाब बढी हुँदा चिकित्सकहरू डडेल्धुरा आउन नमान्ने प्रवृत्ति देखिएको छ । उनले अस्पतालको सेवा प्रवाह सुधार गर्न तीनसय बेडको अस्पतालका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी फाइल अर्थ मन्त्रालयमा पठाइएको जानकारी गराए । तर, अर्थ मन्त्रालयले उक्त फाइल रोकिरहेको उनले उल्लेख गरे ।
सचिव पोखरेलले अब डडेल्धुरा अस्पतालले थप डाक्टर पाउनेमा आशावादी रहेको बताए । चिकित्सक र नर्सका लागि नयाँ क्वार्टर बनेपछि यहाँ सेवा गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै, अस्पतालको विकासका लागि एकताबद्ध भएर लाग्न सबैलाई आग्रह गरे ।
डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सकहरू नहुँदा सेवाहरू प्रभावित भइरहेका छन् । संघीय सरकार मातहत रहे पनि सुरु देखि नै अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या आइरहेको छ । हाल १७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अधिकांश पद रिक्त छन्। अस्पतालका निमित्त प्रमुख डा नरेन्द्र कुमार खनालका अनुसार नेपाल सरकारको छात्रवृत्ति तथा करार गरी हाल ११ जना मात्र विशेषज्ञ चिकित्सक छन् । त्यस्तै, १८ जना मेडिकल अफिसरको दरबन्दी भए पनि हाल सात जना मात्र कार्यरत छन् ।
स्टाफ नर्सको दरबन्दी ३२ जना भए पनि पछिल्लो करार प्रक्रिया मार्फत ४४ जना कार्यरत छन् । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको प्रमुख खनालले बताए ।
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणा कर ओझाले स्वास्थ्य मन्त्रालयलाई पटकपटक स्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पठाउन अनुरोध गरिए पनि हालसम्म समाधान नभएको बताए । उनले अस्पतालका समस्या समाधानका लागि पटकपटक काठमाडौं धाउँदा पनि ठोस नतिजा नआएको गुनासो गरे ।