Paschim Express
बन्धक रिहाइ रोक्ने हमासको घोषणा, विपिन जोशीको रिहाइ अन्योलमा

काठमाडाैं । हमासको लडाकु दस्ताका एकजना प्रवक्ताले इजरायली बन्धकहरूको आगामी निर्धारित रिहाइलाई स्थगित गरेको जनाएका छन् । इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भन्दै हमासले बन्धकहरूको आगामी निर्धारित रिहाइलाई स्थगित गर्ने जनाएको हो ।  

इजरायलमा थुनामा रहेका थप प्यालेस्टिनी बन्दीहरू रिहा हुने गरी शनिबार गाजामा बन्धक बनाइएका तीनजना इजरायली मुक्त गर्ने योजना थियो।

इजरायलका रक्षामन्त्री इजरेल कात्सले हमासको उक्त घोषणालाई युद्धविराम सम्झौताको ‘पूर्ण उल्लङ्घन’ बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा यदि सबै बन्धकहरू मुक्त नगरिएमा युद्धविराम खारेज गरिनुपर्ने सुझाएका थिए ।

‘मेरो विचारमा शनिबार १२ बजेसम्म उनीहरू फर्कनु पर्छ । किस्ता किस्तामा गरेर होइन, दुई र एक र तीन र चार र दुईजना गरेर होइन,’ उनले भने । 

इजरायल र हमासबीच युद्धविराम सम्झौतामा उत्पन्न तनावका कारण नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ अन्योलमा परेको छ। 

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलाका क्रममा बन्धक बनाइएका ७३ जना र एक दशकअघि लगिएका अन्य तीनजना अझै पनि गाजामा बन्धकका रूपमा छन् ।

यसैबीच गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी दिएका छन् ।

ट्रम्पले हमासले शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा नगरे युद्धविरामको सम्झौता रद्ध गर्ने जनाएका छन् ।

ट्रम्पले गाजा युद्धविरामको लागि आफ्नो तर्फबाट समयसीमा तोक्दै भने, 'यदि शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने सम्झौता रद्द गरिनेछ। सबै बाटोहरू बन्द हुनेछन्। विनाश सिर्जना हुनेछ ।'

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update