
बझाङ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि सोमबार राति चक्कु प्रहार भएको छ । गएराति करिब ११ः३० बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ ।
घटनामा सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ । उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ ।
बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न तीन जना—२९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तहरूले मदिरा सेवन गरेको पाइएको छ ।
पीडित सिंहले होटलमा बोलाएर समूहले आफूमाथि चक्कु प्रहार गरेको बताएका छन् । प्रहरीले कडायत समूहको आपराधिक क्रियाकलापको इतिहासबारे समेत अनुसन्धान गरिरहेको छ ।
नेपाल पत्रकार महासंघ बझाङले घटनाको घोर भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ । महासंघले यो आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भन्दै दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न जोडदार माग गरेको छ ।
महासंघले पत्रकारहरूमाथि हुने कुनै पनि प्रकारका हिंसा र दबाबको विरोध गर्दै पत्रकारहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।
महासंघले अध्यक्ष ललित सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन कडा सुरक्षात्मक उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ ।