
डडेल्धुरा । डडेल्धुराका स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) अन्तर्गत गुणस्तर परीक्षणपूर्वको नतिजा सार्वजनिक गरिएको छ ।
जिल्ला समन्वय समितिको कार्यालय, डडेल्धुराले स्थानीय तहको कार्यप्रकृया, उपलब्धि तथा दुर्बल पक्षहरूको पहिचान गर्ने उद्देश्यले स्वमूल्याङ्कन प्रक्रिया सम्पन्न गरेको हो । यो स्वमूल्याङ्कनले स्थानीय तहहरूलाई विकास, सुशासन सुधार र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्न महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० बमोजिम तयार गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार डडेल्धुरा जिल्लाका सातवटा स्थानीय तहको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छ । जसमा ९८ अंक ल्याएर अजयमेरु गाउँपालिका पहिलो स्थानमा छ भने ७५ अंकका साथ सदरमुकाम रहेको अमरगढी नगरपालिका उक्त सूचीको पुछारमा रहेको छ ।
जिल्ला समन्वय अधिकारी करुणाकर पन्तका अनुसार, यस स्वमूल्याङ्कन प्रक्रियाले स्थानीय तहहरूको सशक्तीकरणमा योगदान पुर्याउने विश्वास लिइएको छ । उनले स्थानीय तहलाई प्रतिस्पर्धात्मक सुधारको अवसर दिन खोजिएको बताए ।
नतिजा सार्वजनिक भएसँगै स्थानीय तहहरूलाई सुशासन सुधार, सेवाप्रवाहमा प्रभावकारिता तथा समग्र संस्थागत क्षमताको वृद्धि गर्ने अवसर प्राप्त भएकोसमेत बताइएको छ ।