Paschim Express
सुदूरपश्चिममा विवाहित छोरी चेलीलाई ‘त्यारमाणो’ दिने चलन

डडेल्धुरा । सुदूरपश्चिममा विवाहित छोरी चेलीलाई ‘त्यारमाणो’ अर्थात् सेलरोटी, माणा, भुनेरोटी  दिने चलन रहेको छ । बिहेपछि पराईघर गएकी छोरी चेलीलाई माघको महिनामा सेलरोटी माणा तथा मीठा परिकार बनाएर दिएमा पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास सुदूरपश्चिम क्षेत्रमा रहेको छ । 

विवाह गरी पठाइएकी चेली र माइतीको सम्बन्ध प्रगाढ बनाइराख्न ‘त्यारमाणो’ दिने प्रचलन पुरानो हो । माघ महिनामा सुदूरपश्चिमका पहाडी जिल्ला र तराईका कैलाली र कञ्चनपुरमा बस्ने पहाडीमूलका बासिन्दाले बिहे भएका छोरी चेलीलाई सेलरोटी र अन्य परिकार बनाएर दिने चलन रहेको अजयमेरु गाउँपालिका–३ की भागरथी बिकले बताइन् ।

कामधन्दामै माइती बिर्सिएकी चेलीलाई ‘त्यारमाणो’ले सम्झना दिलाउने र माइती पक्षसँग भेटघाट गराउने अवसर यस चलनले जुराउने गर्दछ । माइतीको सम्झना बिर्साउन पनि माघमा त्यारमाणो दिने गरिएको बैतडीको मेलौलीका ७१ वर्षका भवानी बिष्टले बताए ।
 
सुदूरपश्चिममा माघ महिनालाई चेली तिहार पनि भनिने गरिन्छ । नजिक घर भएका छोरीलाई भने माइती घरमै बोलाएर खुवाउने र गक्षेअनुसार दक्षिणा दिने गरिन्छ भने टाढा घर भएका छोरीको घरमै गएर त्यारमाणो दिइने र यस चलनले सास्कृतिक र समाजिक मान्यता बोकेको साहित्यकार तथा संस्कृतिका जानकार उमेश अवस्थी‘आदर्श’ले बताए । 

यो चलन सुदूरपश्चिमको डडेल्धुरा, डोटी, बझाङ, अछाम र बाजुरामा कायम छ। बैतडी र दार्चुलामा चैत्र महिनामा ‘चैतालो भिटौलो’ चलन छ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update