Paschim Express
डडेल्धुराको शिद्धनाथ माविले वार्षिकोत्सवमा भलिबल प्रतियोगिता आयोजना गर्ने,   प्रथम पुरस्कार २ लाख

डडेल्धुरा । डडेल्धुराको पुराना विद्यालयहरूमध्ये एक मानिने परशुरामकाे शिद्धनाथ माध्यमिक विद्यालयले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा अभिभावक दिवस तथा स्वर्ण जयन्ती मनाउने भएको छ । यस अवसरमा विद्यालयले सुदूरपश्चिम प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

भलिबल प्रतियोगिताको प्रथम पुरस्कार २ लाख, दोस्रो पुरस्कार १ लाख, र तेस्रो पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । साथै, विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिने विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा परशुराम नगरपालिका वडा नम्बर  ६ का अध्यक्ष खगेन्द्रबहादुर सिंहका अनुसार फागुन १८ गतेदेखि सुरु हुने स्वर्ण जयन्ती कार्यक्रममा स्थानीय तथा राष्ट्रिय लोक, देउडा कलाकार, मोडल तथा डान्सरहरूलाई आमन्त्रण गरिनेछ ।

स्वर्ण जयन्तीको अवसरमा शिक्षा क्षेत्रका विभिन्न व्यक्ति तथा कार्यालयलाई सम्मान गरिनुका साथै जग्गादाता, चन्दादाता सम्मान, महिला आमा समूहको देउडा प्रतियोगिता तथा विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update