Paschim Express
आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिँदै

काठमाडौं । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ । काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा गरिरहेका छन् ।

मन्दिर नजानेहरू आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन् । धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ ।

कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको डा. शास्त्री बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update