
काठमाडौं । नेपाल–भारत सहकार्यमा निर्माण हुन लागेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब कार्यान्वयनको नयाँ चरणमा प्रवेश गर्ने संकेत देखिएको छ । भारतीय सरकार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै अन्तिम रूप दिन र निर्माण प्रक्रिया अघि बढाउन सकारात्मक देखिएको छ ।
भारतको नयाँदिल्लीमा आयोजित ‘इन्डिया इनर्जी विक–२०२५’ कार्यक्रममा सहभागी हुन गएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतीय समकक्षी जलशक्तिमन्त्री सीआर पाटिलसँग द्विपक्षीय वार्ता गरेका थिए । श्रमशक्ति भवनमा भएको भेटवार्तामा पञ्चेश्वर परियोजनाको डीपीआरलाई शीघ्र टुंगो लगाएर आयोजना अघि बढाउने विषयमा सहमति जुटेको ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।
वार्तामा टनकपुरदेखि नेपाल–भारत सीमासम्मको लिंक नहर निर्माण पूरा भइसकेको तर महाकाली सन्धिअनुसार पानी सञ्चालन कार्यविधिलाई छिट्टै अन्तिम रूप दिने सहमति भएको छ ।
त्यसैगरी, बाढी तथा डुबान व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित आगामी २२–२४ मार्चमा नेपाल–भारत संयुक्त समितिको १४औं बैठक आयोजना गर्ने निर्णय पनि भएको छ । ऊर्जा मन्त्रालयले यसको लागि औपचारिक पत्राचार अघि बढाउने जनाएको छ ।
साथै, सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर विषयमा पनि द्विपक्षीय छलफल अघि बढाउने सहमति भएको छ।
ऊर्जामन्त्री खड्काले यसअघि ५ नोभेम्बरमा भएको बैठक स्मरण गर्दै दुई देशबीचको जलस्रोत सहकार्यलाई थप बलियो बनाउन पछिल्ला छलफलहरूले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।
भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआर छिट्टै फाइनल गर्ने र आयोजनालाई शीघ्र कार्यान्वयनमा लैजाने विषयमा भारतीय सरकार सकारात्मक रहेको प्रतिबद्धता जनाए ।
भेटवार्तामा मन्त्री खड्कासँगै ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
यो सहमति कार्यान्वयनमा आएमा नेपाल–भारत जलस्रोत सहकार्यले नयाँ गति लिने र बहुप्रतीक्षित पञ्चेश्वर आयोजना अघि बढ्ने अपेक्षा गरिएको छ ।