डडेल्धुरा । डडेल्धुरा जिल्लामा सवारी दुर्घटना रोकथाम तथा न्यूनिकरण गर्न प्रहरीले अटोचालकहरुसँग अन्तरक्रिया गर्दै सुरक्षा उपायहरू लागू गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सवारी सचेतना कार्यक्रमको आयोजना गरी अटोचालकको परिचय खुल्ने गरी विशेष ज्याकेट वितरण गरेको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् । उनले साना सवारी साधन (अटोरिक्सा) ले यात्रुहरूको लागि छोटो दूरीको यात्रा सहज बनाएको उल्लेख गर्दै सुरक्षित यात्राको आवश्यकता औंल्याइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार अटो व्यवसायी संघको उपस्थितिमा आयोजित कार्यक्रममा सवारी चालकहरूलाई सवारी सुरक्षाका नियमबारे सचेत गराइएको छ । साथै, यात्रुहरूलाई सुरक्षित स्थानसम्म पुर्याउने जिम्मेवारी पूरा गर्न चालकहरूलाई निर्देशन दिइएको छ ।
पछिल्लो समय अमरगढी बजारमा अटोरिक्साको संख्या तीव्र रूपमा वृद्धि भएकोले, यात्रु सुरक्षालाई प्राथमिकता दिँदै अटो चालकहरूको परिचय खुल्ने गरी पहिचान ज्याकेट वितरण गरिएको प्रहरीले जनाएको छ ।