Paschim Express
डडेल्धुरामा उद्यमी महिलाका लागि वित्तीय पहुँच विस्तारसम्बन्धी कार्यशाला

डडेल्धुरा । डडेल्धुरामा उद्यमी महिलाहरूलाई वित्तीय सेवासँग जोड्ने उद्देश्यले एक दिवसीय कार्यशाला सम्पन्न भएको छ । रुडुक र अक्सफाम नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरूको रूपान्तरणात्मक नेतृत्व’ परियोजनाअन्तर्गत गन्याधुरा गाउँपालिका र अमरगढी नगरपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

कार्यशालामा स्थानीय उद्यमी महिला समूह, सहकारी, बैंक तथा वित्तीय संस्थाहरूसँगको समन्वयमार्फत व्यवसाय प्रवर्द्धन तथा विस्तारका लागि आवश्यक कानुनी प्रावधानहरूबारे छलफल गरिएको थियो । साथै, स्थानीय तहहरूले प्रदान गर्न सक्ने सेवा तथा सुविधाका विषयमा जानकारी प्रदान गरिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउँदले बताए ।

472921475_1633752540581489_8336786696134381261_n-1739697030.jpg
 

कार्यक्रममा कृषि तथा वैकल्पिक उद्यमतर्फ महिलाहरूलाई आकर्षित गर्न कृषि ज्ञान केन्द्र डडेल्धुराले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । उनले भने, "महिला उद्यमी समूहलाई कृषि कार्यक्रमसँग जोडेर अघि बढाउने योजना रहेको छ। समन्वयात्मक रूपमा कार्य गरेमा समुदायले प्रत्यक्ष लाभ प्राप्त गर्नेछ।"

बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूका अनुसार, व्यवसायिक योजना लिएर आउने महिला उद्यमीहरूले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन् ।

अमरगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष टंक क्षेत्रीले सफल महिला उद्यमीहरूको योगदानले स्थानीय तहको पहिचान अलग बन्ने र आर्थिक वृद्धिमा सुधार आउने बताए । त्यस्तै, गन्याधुरा गाउँपालिका अध्यक्ष इन्द्र कार्कीले महिलाहरू उद्यममा संलग्न हुँदा समग्र गाउँ तथा नगर नै उद्यमशीलतातर्फ अघि बढ्ने उल्लेख गरे । उनले भने, "महिला दिदीबहिनीहरूले उद्यमलाई निरन्तरता दिँदा गाउँपालिकाले सधैं सहयोग गर्नेछ ।"

कार्यक्रममा गन्याधुरा गाउँपालिका र अमरगढी नगरपालिकाका २५ जना उद्यमी महिला, स्थानीय तहका प्रमुख, वडाध्यक्ष, महिला सहकारीका प्रतिनिधि तथा बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update