
डडेल्धुरा । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ को नवनिर्मित वडा कार्यालय भवनमा स्थानीयले तालाबन्दी गरेका छन् । माघ २७ गते औपचारिक रूपमा उद्घाटन गरिएको उक्त भवनमा केही सरकारी सामग्रीहरू अनियमित रूपमा सारिएको भन्दै स्थानीयहरूले विरोध जनाएका हुन् ।
स्थानीय खडक साउदका अनुसार वडा कार्यालयका सोफा, कुर्सी, कार्पेटलगायतका सामग्रीहरू जनप्रतिनिधि तथा कर्मचारीहरूको घरमा लगिएको आरोप लगाइएको छ । यही विषयलाई लिएर असन्तुष्ट भएका स्थानीयहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
यस घटनापछि, हिजो दिउँसो बेलापुर प्रहरी कार्यालयलाई सामाजिक सञ्जालमार्फत सामग्रीहरू हिनामिना भएको जानकारी गराइए पनि स्थानीय सरकारबाट कुनै प्रतिक्रिया नआएको स्थानीयको गुनासो छ । त्यसैले, उनीहरूले आवश्यक छानबिन तथा समाधानको माग गर्दै पालिकामा निवेदन दर्ता गराएका छन् ।