Paschim Express
बैतडीको पाटनमा राज्यको लाखौं लगानी यसरी जाँदैछ खेर, कामै नगरी कर्मचारीलाई धमाधम तलब

डडेल्धुरा ।  ४ वर्षअघि जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरामा सुपरभाइजर पदमा कार्यरत विनोट भट्ट अध्ययन विदामा गए  । उनलाई सरकारले तलबी अध्ययन बिदामा ब्याचूलर इन पब्लिक हेल्थ(विपियच) पढाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । अध्ययनकै बेला उनको समायोजन पाटन नगरपालिकामा भएको थियो । 

गत वर्षको माघ १२ गते अध्ययन पूरा गरेपछि उनी सरकारले खटाएको बैतडीको पाटन नगरपालिकामा हाजिर भए। तर, उनलाई हालसम्म पनि कुनै पद नदिएर जगेडामा राखिएको छ । राज्यले उनीमाथि २५ देखि ३० लाख खर्च गरेर बिपीयच अध्यापन गराएको थियो। तर, उक्त लगानीले हालसम्म फल दिन पाएको छैन । हाजिर भएको ८ महिना पुग्नै लागे पनि उनलाई जिम्मेवारी दिइएको छैन। जिम्मेवारी नदिइएपछि छैठौं तहका जनस्वाथ्य निरीक्षक भट्टले हाजिर लगाएर घर जाने गरेका छन् ।

उनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी भट्टलाई जिम्मेवारीका लागि निवेदन दिँदासमेत उनलाई कामकाजमा खटाइएन। नगरपालिकाले भने उनको दरबन्दी कैलपाल स्वास्थ्य चौकी भएको बताउँछ । तर, विनोद भट्टले आफ्नो दरबन्दी नगरपालिकाको कार्यालयमै भएको दाबी गर्दै आएका छन् ।

अहिले नयाँ प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढालाईसमेत उनले जिम्मेवारी दिन माग गर्दै निवेदन पेस गरेका छन् । उनले सामाजिक विकास शाखा, स्वास्थ्य शाखा प्रमुख वा शिलंगा स्वास्थ्य चौकी प्रमुख माग गरेको पत्र समेत बाहिर आएको छ। पाटनको स्वास्थ्य शाखा प्रमुखमा सिनीयर अहेब मदन महरा कार्यरत छन् ।  

हाजिर मात्रै लगाएर तलब
उनी मात्रै होइन पाटन नगरपालिकामा हाजिर मात्र लगाएर तलब खाने अन्य धेरै कर्मचारी छन् ।  आफूलाई छैठौं अधिकृत दाबी गर्ने पाँचौ तहका कृषि प्राविधिक दानबहादुर विष्टलाई पनि ३ वर्षदेखि हाजिरकै आधारमा नगरपालिकाले तलब दिने गरेको पाइएको छ । कृषि शाखा प्रमुखको जिम्मेवारी मागेका उनलाई सो जिम्मेवारी नदिइएपछि कामकाज नगरिहेको स्रोत बताउँछ । 

तीन वर्षे तलबी अध्ययन बिदा सकेर काममा फर्किएकी अनमी नेहा भट्ट पनि जिम्मेवारी नलिएर हाजिरकै भरमा तलब खाने गरेकी छन्। गुजर स्वास्थ्य चौकीमा दरबन्दी भए पनि पहुँचकै भरमा नगरपालिकामै बसेर उनलाई तलब खातामा आउँछ। 

यस्तै चालक भुवन भण्डारीले पनि हाजिर लगाएर मात्रै तलब खाने गरेका छन् । ९ महिना यता नगरपालिको गाडी खराब भएपछि उनले त्यस्तो सुविधा पाएका हुन् । उनी आफू एम्बुलेसको चालक भएको दाबी गर्छन् तर उनलाई एम्बुलेसको जिम्मेवारी दिइएको छैन ।


यसैगरी पुरानो एम्बुलेस चालक चक्रबहादुर चन्दको पनि हजिर लगाएर घुम्ने वा घर जानेबाहेक कुनै जिम्मेवारी छैन । नगरपालिकाले नयाँ एम्बुलेस खरिद गरेपछि दमकलमा सहायक चालकको रुपमा रहेका भुवन केसीलाई चालक बनाएपछि उनी करिब ७ महिनाबाट जिम्मेवारीविहीन छन् । दमकल चालकविहीन छ ।

यति मात्रै होइन अनमी धनादेवी पन्तले पनि हाजिर लगाएर घर जाने गरेकी छिन् । सकार स्वास्थ्य चौकीमा दरबन्दी भए पनि पहुँचका भरमा उनलाई नगरपालिकाको कार्यालयमा दर्ता चलानी कर्मचारी भनेर राखिएको छ । तर दर्ता चलानी भने अरुले नै गरिरहेको छ । अनमी पन्तले भने बिरामी भएकाले स्वास्थ्य चौकीमा जान नसकिरहेको बताउँदै आएकी छिन् । 

नगरपालिकाका कार्यरत कर्मचारीले यतिसम्म गर्दा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुले भने कुनै चासो नदिएको आरोप लागेको छ । भर्खरै आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले आफू आएको केही दिनमात्र भएकाले सबै कुरा बुझ्न बाँकी रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update