डोटेली संस्कृतिको विशिष्ट परम्परा हो देलीबालो । देली र बालो दुई शब्द मिलेर बनेको छ देलीबालो । देलीको अर्थ दैलो र बालोको अर्थ जौं र धानका बाला बुझिन्छ । दैलोमाथि बसन्त ऋतुको नवरात्रीमा जौं र शरदिय नवरात्रीमा धानको बाला, गोबर, माटो लगाई विधिपूर्वक पुजा गर्दै बाला झुण्ड्याउने गरिन्छ ।
त्यसैलाई देलीबालो लगाउने भन्ने गरिन्छ । सनातन संस्कृतिमा अन्नलाई परमात्मा देवता भन्ने गरिन्छ । अन्नपूर्णे सदा पुर्णे भनेर अन्न दाता देवी अन्नपूर्णाको आराधना गरिन्छ । जौंलाई आदी अन्न पनि मानिन्छ ।
हरेक कार्यमा जौंको विषेश प्रयोग हुन्छ । स्वाहा र स्वाधामा जौंको प्रयोग हुन्छ । जौं सेवन स्वास्थका लागि पनि निकै उत्तम मानिन्छ । जौं फल्ने समय बसन्त ऋतुमा ग्रामदेवता, कुलदेवता र अन्य पुजनिय देवताको थानमा न्वागी स्वरुप देलीबालो लगाएर आफ्नो दैलोमा पनि देलीबालो लगाइन्छ । जौं पछि मानव जीवनमा बढी प्रयोग हुने धान हो ।
धानको बालाको सुन्दरता पनि निकै हुन्छ । धन धान्यञ्चललाई देव रूपमा मानिन्छ । चामललाई अक्षताको रुपमा प्रयोग गरिन्छ । हरेक पुजामा अक्षताको प्रयोग गरिएको हुन्छ । देव र पितृ कार्यमा तथा अन्य जीवनोपयोगी संस्कारमा धान, चामलको प्रयोग गरिएको हुन्छ ।
संस्कृतमा जौंलाई यव भनिन्छ । जांैलाई औषधिय अन्न मानिन्छ । वैदिक ग्रन्थमा जांैलाई यज्ञ यज्ञादीको प्रयोग विधिबाट रोग मुक्त, बल तथा प्राण पुष्ट पार्ने अन्नका रुपमा लिइएको छ । यज्ञ यज्ञादीमा जौंको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थहरुमा जौंलाई अन्नको राजा मानिएको छ । यवोसी धान्यश भनिएको पाइन्छ । दसैंमा जौंको अंकुरण अमारेर छोपेर राख्ने र पहेला जमराको प्रयोग गरिन्छ ।
जमरालाई पनि औषधिका रुपमा प्रयोग गरिन्छ । श्रीमद् भागवत गीतामा भगवान कृष्णले पनि औषधिनामहं यवः अर्थात औषधिमा जौं हो भनेका छन् । जांै, तील, धान, मुम, कागुनो, गहु, चनालाई सप्त धान्य भन्ने गरिएको छ । हरेक कार्यमा धान, चामलको प्रयोग गरिएको हुन्छ ।
पूर्वीय सभ्यताको विकाससंगै जौं र धान उत्पादन सुरु भएको मानिन्छ । दुबै अन्नलाई पौराणिक पनि मानिन्छ । वैदिक सनातनीहरु प्रकृति पुजक भएकाले अन्नको पनि पुजा गर्ने गरेको पाइन्छ । पुजा सामग्रीमा पनि जौं र चामलको अनिवार्य प्रयोग हुन्छ । यस्तो पुजनिय अन्नको सदा आशिर्वाद मिलोस् भन्नका लागि दैलोमाथि राखिन्छ । निहुरिएका बाला शिरमाथि परुन भनि दैलोमा राखिने संस्कृति हो, देलीबालो लगाउने प्रचलन ।
वैदिक सनातन धर्मावलम्बीहरुले दैलोमा पनि देवताको बास मान्दछन् । दैलो पुजन गर्ने गर्दछन् । नव दुलही भित्र्याउदा दैलो पुजा गरेर भित्र्याएको हुन्छ । माइतीघरबाट आफ्नो घर जान लागेकी छोरी, बहिनी दैलो पुजेर जाने गर्छन । देवताको थानमा न्वागी राखिए जस्तै देलीबालो हरेक घरको दैलोमा राखिन्छ । बसन्त र शरदिय नवरात्रीमा देलीबालो लगाउने गरिन्छ ।
मुख्यतः दसैंको दिन लागाउने भए पनि अन्य नवरात्रीको कुनै पनि दिन उपयुक्त साइतमा देलीबालो लगाइएको हुन्छ । विभिन्न रंगरोगनले सजायको दैलोलाई अन्नको अलंकारले सजाएको हुन्छ । रातो माटो र गोबर मिसाएर चक्र बनाइन्छ । चक्रको बिचमा अष्टदल बनाएर पञ्चोपचार विधिले पुजा गरि देलीबालो लगाइन्छ ।