Paschim Express
डडेल्धुरा अस्पतालले १४ डाक्टरका लागि आवेदन खोल्दा कसैले परीक्षा दिएनन्, फेरि दरखास्त आह्वान

डडेल्धुरा । डडेल्धुरा अस्पतालले करार सेवामा चिकित्सक भर्ना गर्न फेरि प्रक्रिया अगाडि बढाएको छ । पहिलोपटक खोलेको विज्ञापनमा दरखास्त दिएका कोही पनि परीक्षामा सहभागी नभएपछि दोस्रोपटक विज्ञापन गरेर चिकित्सक भर्ना प्रक्रिया अगाडि बढाइएको हो ।

अस्पतालले १४ जना डाक्टर भर्ना गर्नका लागि आवेदन माग गरेको हो । १२ जना नवौं तहका विशेषज्ञ र २ जना मेडिकल अधिकृतका लागि आवेदन खोलिएको अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयबाट स्विकृत दरबन्दी रिक्त रहेको र अस्पताल विकास समितिको साउन २२ गतेको निर्णयअनुसार करार सेवामा चिकित्सक भर्ना गर्न आवेदन खोलिएको जनाइएको छ ।

इच्छुकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ भने छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । ०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ । उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्विकृत भएको थियो ।

तर आधा दरबन्दी रिक्त छ । स्विकृत दरबन्दीअनुसार एक जना ११औं तहको मेडिकल सुपरिटेन्डेण्ड, ९औं र १०औं तहका थप १९ जना कन्सल्टेण्ड चिकित्सक हुनुपर्ने हो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update