Paschim Express
डडेल्धुरामा सामुहिक बलात्कार : युवतीको पेटमा ५ महिनाको गर्भ रहेको खुलेपछि बाहिरीयो घटना

डडेल्धुरा । ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा स्वास्थ्य शिविर भयो । गाउँपालिकाको नियमित कार्यक्रमअन्तर्गत भएको शिविरमा भिडियो एक्सरे सेवा पनि सञ्चालन गरिएको थियो । सोही शिविरमा आइन् स्थानीय २० वर्षीया युवति (विवाहित) । केही महिनादेखि पेट दुख्ने समस्या देखिएको थियो उनमा ।

भिडियो एक्सरेमा ५ महिनाको गर्भ रहेको देखायो । परिवारका सदस्य जिल्ल परे । किन भन्दा ती युवतीका श्रीमान विगत डेढ वर्षदेखि भारत थिए । श्रीमान डेढ वर्षदेखि भारत रहेको समयमा ५ महिनाको गर्भ देखिएपछि ती युवतीका परिवारका सदस्यले सोही दिन प्रहरी चौकी लामिकाण्डेमा मौखिक जानकारी गराए । ‘वैशाख महिनामा सामुहिक बलात्कार भएको र घटनामा संलग्न एउटा युवकलाई चिन्छु भन्दै मौखिक रुपमा प्रहरी चौकीलाई जानकारी गराइएको थियो,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले भने । 
युवतीले बताएको हुलियाको आधारमा प्रहरीले २ असोजमा ४ जनालाई पक्राउ ग¥यो । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड रहेका छन् । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार चारै जना सामुहिक बलात्कारमा संलग्न रहेको भन्दै पीडित युवतीले पुष्टि गरेकी छिन् । २ असोजमा पीडित युवतीका ससुराले ४ जनाको नाममा किटानी जाहेरी पनि दिइसकेको डिएसपी कार्कीले बताए । 
‘२० वर्षीया युवतीको पहिलोपटक वैशाख ५ गते स्थानीय नानीगाड र १२ गते बाझो गोठमा सामुहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ बिहीबार आरोपितलाई सार्वजनिक गर्दै डिएसपी कार्कीले भने, ‘५ गते बलात्कार हुँदा ४ जना र त्यसपछि २ जना संलग्न भएको खुलेको छ । बयानका क्रममा आरोपितले पनि स्विकार गरिसकेको अवस्था हो ।’

बलात्कारपछि गर्भ बसेका कारण मात्रै घटना सार्वजनिक भएको डिएसपी कार्कीले बताए । ‘श्रीमान कामका लागि भारत गएको र परिवारका सदस्यलाई आफूमाथि बलात्कार भयो भनेर युवतीले बताउन नसकेको अवस्था देखियो,’ उनले भने, ‘४ जनालाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’ पीडित युवती एक छोरीकी आमा हुन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update