
अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ । विसं २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको दरबार ध्वस्त भएको थियो ।
सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त दरबारको उद्घाटन गरे। उनले प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई भवन हस्तान्तरण गरे । सहरी विकास मन्त्रालय मातहत दरबार निर्माण भएको हो ।
उपप्रधानमन्त्री सिंहले समग्र अछामको पहिचान बोकेको ऐतिहासिक दरबारलाई सदुपयोग र आउने पिढिलाई यसको महत्वबारे जानकारी दिनुपर्ने बताए । उनले दरबारको विकास र बाँकी संरचना निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दरबारको रु दुई करोड ४८ लाखमा मा पुनःनिर्माण भएको हो । तीन तला रहेको यस दरबारमा काठको बढी प्रयोग गरी कलात्मक बनाइएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरालगायतले मन्तव्य राखेका थिए ।
माओवादी आक्रमणले ध्वस्त भएपछि विसं २०६५ असार २४ गतेदेखि निर्माण सुरु भएको थियो। विसं २०६७ मा निर्माण गरिसक्नु पर्ने थियो। तर पटकपटक म्याद थप हुँदा पनि दरबार पुननिर्माणको काम सम्पन्न भएको थिएन। पुननिर्माणको काम सुरु भएको १६ वर्षपछि दरबार ठडिएको हो।
मंगलसेन दरबार तत्कालीन अछामी राजा दलबहादुर शाहको पालामा १९३५ मा निर्माण सुरु भएर विसं १९४१ मा निर्माण भएको बताइन्छ।
यो दरबारलाई २०२९ सालमा अछामी राजाका सन्तानबाट सरकारले किनेको थियो। परम्परागत शैलीमा निर्माण गरिएको उक्त तीन तले दरबारमा ३० कोठा थिए।