Paschim Express
किन गरियाे सुदूरपश्चिम प्रदेश सभामा ढुङ्गामुढा ?

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरूले सुदूरपश्चिम सरकारले स्थानीय तहले भर्ती गरेका अस्थायी तथा करार सेवाका कर्मचारीलाई स्थायी बनाउने कानूनी प्रबन्ध बनाइरहेको विरोध गर्दै बिहीवार साँझ प्रदेश सभाको अगाडि प्रदर्शन गरेका हुन् ।

यस विरोधमा सहभागी विद्यार्थीहरूले प्रदेश सभाको परिसरलाई घेराउ गर्दै टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले ढुङ्गा र मुढा समेत फ्याँकेका छन् । विद्यार्थी संगठनहरूले प्रदेश सभामा पेस भएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को प्रावधानको विरोध गर्दै संयुक्त रूपमा प्रदर्शन गर्दै आएका छन् ।

यो विधेयकमा स्थानीय तहका अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीलाई स्थायी बनाउन कानूनी प्रबन्धको प्रावधान छ । विधेयकको दायरा अनुसार, ऐन लागू हुनुभन्दा पहिले स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करारमा नियुक्त कर्मचारीहरूको लागि आन्तरिक प्रतियोगितात्मक परीक्षा मार्फत पदपूर्ति गर्नुपर्ने उल्लेख गरिएको छ ।

विधेयक पारित भएपछी स्थानीय तहका सयौँ अस्थायी र करार कर्मचारीलाई आन्तरिक प्रतियोगिता मार्फत पदपूर्ति गर्ने अवसर मिल्नेछ, जसका लागि लोकसेवा आयोगले छुट्टै परीक्षा सञ्चालन गर्नेछ । विद्यार्थीहरू यस प्रावधानलाई सीमित कर्मचारीलाई मात्र लाभ पुग्ने भन्दै विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update