
बाजुरा । बाजुराको पूर्वी उत्तरी क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा एक दर्दनाक घटना भएको छ । कर्णाली नदीमा माछा मारेर फर्किने क्रममा स्वामिकार्तिक खापर गाउँपालिका–२ का पुस्से भण्डारी भीरबाट लडेर गम्भीर घाइते भएका थिए । उनलाई बचाउन पुगेका आठ जना स्थानीय आफैं भीरमा अलपत्र परेका छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार, भण्डारी माछा मार्न सहज रूपमा गएका थिए, तर फर्किने क्रममा भीरबाट चिप्लिएर गम्भीर घाइते भए । उद्धारका लागि पुगेका चार जना युवा, तीन जना बालबालिका र एक महिला समेत त्यही भीरमा अड्किएका छन् ।
स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विष्णु बुढाका अनुसार, राति भएकाले उद्धार कार्य गर्न कठिनाइ भयो । प्रहरीलाई खबर गरिए पनि अँध्यारोका कारण तत्काल उद्धार सम्भव भएन। रातभर उद्धार टोली घटनास्थलमै रहेको थियो ।
हाल हिमाली गाउँपालिकाबाट डुंगा मगाइएको छ र कर्णाली नदीबाट उद्धार गर्ने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, भीरमा अड्किएका सबै सुरक्षित छन् र केही समयमा उनीहरूको उद्धार गरिनेछ ।