Paschim Express
सुदूरपश्चिमका १२ क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व, कहाँ को ?

धनगढी । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनअन्तर्गत सुदूरपश्चिमका १२ क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । कतै विभिन्न संगठनबीच पद बाँडफाँट भएर त कतै एकल उम्मेदवारी परेर सर्वसम्मत नेतृत्व चयन भएको हो ।

१२ मध्ये ६ मा अनेरास्ववियु, चारमा नेविसंघ र दुईमा अखिल (क्रान्तिकारी) का सभापति चयन भएका छन् ।

दार्चुलामा त्रिविअन्तर्गतका सबै पाँचवटै क्याम्पसमा निर्विरोध रूपमा स्ववियु चयन भएको छ । नेविसंघ, अखिल र अखिल क्रान्तिकारीबीच भागवण्डा गर्ने सहमतिअनुसार निर्विरोध रूपमा चयन गरिएको हो ।

भागवण्डाअनुसार नेविसंघले दुई, अखिलले दुई र क्रान्तिकारीले एक क्याम्पस पाएको छ । अखिलका जिल्ला अध्यक्ष नरेन्द्र जोशीका अनुसार लटिनाथ क्याम्पस मार्मामा रुकेश विष्ट र कृष्ण स्नातक क्याम्पस लालिमा ओमकार पाल अखिलबाट सभापतित्वमा सर्वसम्मत चयन भएका छन् ।

यस्तै, नेविसंघको तर्फबाट अपिनम्पा क्याम्पस हुतीमा शेरबहादुर बम र राष्ट्रिय क्याम्पस दत्तुमा लिलु भट्ट सभापति चयन भएका छन् । शंकरपुर क्याम्पस दार्चुलामा अखिल ९क्रान्तिकारी० की जानकी टमटा स्ववियु सभापतिमा निर्विरोध चयन भएकी छन् ।

यस्तै, बझाङमा सेती क्याम्पसमा अखिलका दीपेन्द्र दौल्याल, बैतडीको नवप्रभात संयुक्त क्याम्पसमा अखिलकै सपना चन्द, बैतडीकै शिक्षा क्याम्पसमा अखिलका अक्बर चन्द र बाजुराको बुदिनन्दा क्याम्पसमा अखिलका भाष्कर शाही निर्विरोध सभापति चयन भएका छन् ।

अछामको साँफेबगर नगरपालिका– २ मा रहेको त्रिपुरा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका कमल कुँवर निर्विरोध निर्वाचित भएका छन् । कुँवर दोस्रोपटक सभापतिमा निर्वाचित भएका हुन् ।

यस्तै कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका–१० झलारीमा रहेको कृष्णबैजनाथ बहुमुखी क्याम्पसको सभापतिमा करनप्रसाद भट्ट चयन भएका छन् । उनी नेपाल विद्यार्थी सङ्घका हुन् । 

शान्ति आदर्श बहुमुखी क्याम्पस बझाङमा अनेरास्ववियु (क्रान्तिकारी) का बम धामी निर्वाचित भएका छन् । सुदूरपश्चिमका त्रिविअन्तर्गत रहेका ५३ कलेजमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । प्रदेशभर त्रिविमातहतका ७६ कलेज भए पनि ५३ वटामा मात्रै संगठन दर्ता भएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update