Paschim Express
सुदूरपश्चिममा भएको त्यो भीषण युद्ध, जहाँ मान्छेसंगै देउता पनि लडे

डडेल्धुरा । नेपाल–अंग्रेज युद्ध इतिहासका पानामा स्वर्णिम अक्षरले कुंदिएको छ । जुन युद्धले नेपालीहरुलाई संसारभर गोर्खालीका नामले चिनायो । तर अंग्रेजसंगको युद्धभन्दा दुई सय वर्षअघि नेपालीहरुले भारतमा ५ सय वर्ष राज्य गर्ने शक्तिशाली मुगल शासकसंग लडेको भिषण युद्ध भने चलनचल्तीको इतिहासमा गुमनाम भएको छ ।

तत्कालीन डोटी राज्य र मुगल शासकबीच कैलाली र डडेल्धुराको सीमानामा पर्ने नायल गढी, कैलाली र डोटीको सीमानामा रहेको सहजपुर गढी , कैलाली र कञ्चनपुरको सिमानामा रहेको तारा गढी र कञ्चनपुरको रैका (हाल रैकवार बिचवा) गढीमा भएको त्यो भिषण युद्धमा डोटेली फौजले विशाल मुगल साम्राज्यलाई पराजित गरेको घटना भने अहिलेसम्म चर्चामा आउन सकेको छैन । 
नरसंग देउ लड्या डोटी दरबारको
नौं ताल लाल होइगइ लहु नबाबको
गोमती सांघ भइ डोटी अजम्बर
देउ भूमी बाड हाल्यो 
जय होइजाउ डोटी दरबारको 

सन १६०४ मा भएको त्यो भिषण युद्धका भडा धेरै छन् । किंवन्दती र कथा धेरै छन् । लोक संस्कृतिमा गाइने गीतहरु पनि धेरै छन् । युद्ध भएका नायल, तारगढी, सहजपुर गढीमा धेरै अवशेष अहिले पनि बाँकी छन् । नेपाली भूमीमा एकमात्र मुगल दरबारको अवशेष नायलमा अहिले पनि जिवित छ ।

मुगल शासकहरुले तराइ क्षेत्र जितेपछि देवभूमी डोटी राज्यमाथि आक्रमण गर्न सैन्य गढी निर्माण गरिरहेको र केही समयमा आक्रमण हुने सूचना पाएपछि डोटी दरबारका सैन्य कमाण्डर देव अवस्थीको नेतृत्वमा डोटेली फौजले अचानक चारै गढीमा एक साथ आक्रमण गरेका घटनाहरु भडाका रुपमा पुस्तान्तरण हुंदै आएका छन् । कुमाउ, नरेन्द्रनगर (गढवाल) शिमला र कश्मिर मध्ये त्यतिवेला डोटी राज्य सबैभन्दा शक्तिशाली थियो । मुगलहरुले डोटी जितेपछि अन्य साना साना पहाडी राज्य आफैं शरणमा आउने बिश्वासका साथ आक्रमण गरेको थियो ।

नौं तालमध्ये अरु सबै पुरिएर खेतीयोग्य फाँट बने, तर झण्डै एक किलोमिटर लामो तालले नायललाई अझै सुन्दर बनाएको छ । तस्बिर : डीआर पन्त 
 

लोककाब्य भडामा गाइने यो गाथा नौं ताल भएको नायल गढीमा मुगलहरुसंग भएको भिषण लाडाईंको जिवित प्रमाण हो । यो लडाइमा लखनउका नबाब युसामुद्दीनका शहजादाको ज्यान गएपछि मुगलहरुले डोटी दरबारसंग सन्धिको प्रस्ताव राखेको तर डाटेली फौजका कमाण्डर देव अवस्थीले लखनउ वारीको गोमती नदी सिमाना कायम गर्ने भएपछि मात्र सन्धिको प्रस्ताव डोटेली राजाकहाँ लैजाने नत्र युद्ध नरोकिने जवाफ फर्काएपछि लखनउका नबाबले स्वीकार गरेका थिए । १६०४ देखि इष्ट इन्डिया कम्पनीसंग युद्ध नहार्दासम्म नेपालको सीमाना गोमती नदी पारीसम्म रहेको पछिल्ला नक्साले पुष्टी हुन्छ ।

नौं तालमध्ये अरु ८ ताल यसरी खेती गर्ने फांट बनेका छन् । तस्बिर : डीआर पन्त 


यो युद्धका बारेमा इतिहासकार राष्टगुरु योगी नरहरी नाथ, पूर्णप्रकाश यात्री, भोजराज भट्टराई, जयरामप्रसाद गौतमले केही उल्लेख गरेका छन् । तर प्रमाणिक रुपमा ‘कुमाउं राज्यका इतिहासमा’ उल्लेख गरिएको छ । प्राध्यापक अनिरुद्रप्रसाद शाण्डिल्यले लेखेको उक्त पुस्तकमा मुश्लीमहरुलाइ देवभूमीमा उक्लन नदिन डोटीराज्यलाइ, कुमाउ, जुम्ला र तिब्बत समेतले सैन्य सहयोग गरेको उल्लेख गरिएको छ । १७ हजार मुश्लीम सैनिकसंग एक्लै डोटी राज्यले रोक्न नसक्ने देखेपछि अमि पालको नेतृत्वमा महाकाली तरेर कुमाउंवाट सेना पठाइएको उल्लेख छ । झण्डै एक बर्ष चलेको उक्त युद्धमा जुम्ला र तिब्बतवाट समेत सैन्य सहयोग पठाइएको तर उक्त सहयोग पुग्न अगावै डोटेली फौजले युद्ध जितेको उल्लेख गरिएको छ ।

को को हुन् युद्ध भएका गढीहरु ?
कञ्चनपुर जिल्लाको कृष्णपुर बंकदेखि जम्मा २२ किलोमिटरमाथि चूरेको मध्य भागमा रहेको नायल गढी पुरातात्विक र ऐतिहासिक मात्र होइन प्राकृतिक रुपमा पनि त्यत्तिकै महत्वको रहेको छ । चारैतिर चूरेले घेरिएको उपत्यका जस्तो देखिने नायलमा दक्षिण देखि उत्तर तिर पानी ढाल भएको झण्डै एक किलोमिटर लामो अद्भूत तालले यसलाइ अझ आकर्षक बनाएको छ । कुनै समयका नौ वटा ताल अहिले खेती गर्ने फांटमा परिवर्तन भएका छन् । आंप पनि फल्ने, काफल पनि पाक्ने, सुन्तला पनि फल्ने र चिउरी पनि पाक्ने अद्भूत मौसम भएको गाउंपनि हो नायल । 

पुरातात्विक र ऐतिहासिक दुबै महत्व भएको नायल गढीका बिषयमा धेरैलाइ जानकारी नै छैन । बर्तमान नेपालको सिमा भित्र मुगलकालीन एकमात्र दरवार क्षेत्र भएको यही गाउं हो । मुगलकालीन राजाहरुले तराइ मात्र नभइ प्राचिन मानसखण्ड क्षेत्रका राज्य जित्न दरवार स्थापना गरि राज्य बिस्तार गर्न नपाउंदै डोटेली सेनाले भिषण युद्ध लडेर मुगलहरुलाइ गोमती नदी पारी धपाएका लोक काब्य भडा र डेउडामा अहिले पनि गाइने चलन जिवित रहेको छ ।

पुर्खाको बिर गाथा सुनाउँंदै स्थानीय बृद्ध कमल बोहरा । साथमा कृष्णपुर नगरपालिका–२ का वडा अध्यक्ष अर्जुन साउँद । तस्बिर : डीआर पन्त 
 

हाल कैलालीको सहजपुर भनेर चिनीने चूरे गाउँपालिका अन्तरगतको यो क्षेत्रमा अहिले पनि नबाबले बनाएको दरबारका अवशेष छन् । यो नायलदेखि पूर्वतिर ४ कोष दुरीमा रहेको छ । लखनउका नबाबका शहजादा बिराम भएपछि सल्लाको जंगलमा बस्न पाए निको हुने सल्लाह वैद्दहरुले दिएका कारण दरवार वनाएर यहां वसेको किंवदन्ती छ । शहजादा निको भएपछि मध्य पहाड देखि हिमालसम्मका दुर्लभ जडीवुटीको लोभमा परेर यो क्षेत्र मुगलहरुले कब्जा गर्न डोटी राज्य माथि आक्रमण गरेका हुन । शहजादा पुर अपभ्रंश हुंदै पछि शहजपुर नामाकरण भएको हो ।

सहजपुर र नायलको बिचमा मुगलहरुले निर्माण गरेको अर्को तारा गढी छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका १२ मा पर्ने चाप सल्ली गाउंसंगै जोडिएको तारा गढीमा धेरै अवशेष भेटाउन भने सकिदैन । मुगलहरुले युद्धका लागि स्थापना गरेको अर्को गढी हो हाल रैकवार बिचवामा रहेको रैका गढी । यो गढीको पनि अवेशष भेटाउन सकिदैन । तर यही गढीका नामले पछि रैकवार बिचवा नाम रहेको हो ।

। बृहद डोटी राज्यको सिमाना गोमती नदी कायम भएको यो लखनउका नवासंगकोलडाइ विक्रम सम्वत १६०४ को हो । बृहद डोटी राज्य टुक्रीनु अघि नै भएको यस लडाइका बिषयमा सुदूरपश्चिम दिग्दर्शनमा पनि उल्लेख गरिएको पाइन्छ । तत्कालीन डोटी राज्यका सैन्य कमाण्डरहरु  देव अवस्थी, बहादुर बलायर , जिवा कठायत र पिरी वोहराको नेतृत्वमा उक्त युद्ध भएको इतिहासकारहरुले उल्लखे गरेका छन । यस अघि लखनउका नवावका छोरा सहजादले यही गढीमा वसेर राज्य संचालन गर्थे ।यो युद्धमा नेपालीहरुले हराएपछि मुगलहरु गोमती नदी पारी धपाइएका हुन । यो भूभाग नेपालले सुगौली सन्धीमा गुमायो र पछि लखनउ बिद्रोह दमन गर्न सहयोग गरेवाफत अंग्रेजहरुले जंगबहादुरलाइ नयां मुलुक फिर्ता दिएको हो ।

नायल गाउंमा रहेका धेरै पुरातात्विक अवशेषहरुपुरिइसकेका छन । गाउं देखि उत्तर पट्टीको टाकुरामा रहेको मुगलकालीन दरवारको अवशेष मध्ये केही पुरीएका ढुंगा वाहेक केही छैन । तर टाकुरावाट नायल तालसम्मको झण्डै डेढ किलोमिटर लामो गुफा अहिले पनि उस्तै छ । स्थानीय बृद्ध कमलसिंह वोहराले भन्छन‘केटाकेटी छंदा गुफाको भित्रै सम्म पुग्थ्यौं तर पछि विस्तारै वन्द हुंदै गयो ।’

दरवार पनि पुरींदै गएको हो उनले भने ‘वुवाहरुलाइ दरवारको राम्रै सम्झना थियो’ । संरक्षण हुन सकेन वोहरा भन्छन ‘तराइ पहाड जाने मुल वाटो भयो धेरै पुरातात्विक महत्वका संरचना भत्कींदै गए अहिले त नाम मात्र छ ।’ उक्त क्षेत्र उत्खनन गर्ने हो भने अहिले पनि धेरै पुरातात्विक महत्वका सामग्री पाउन सकिने स्थानीयको भनाइ रहेको छ । दरवार क्षेत्र देखि केही तल ताल, ताल देखि तल रानी झरना , गुफा र सिद्ध भागवतीको मन्दिर अहिले हेर्न सकिने दर्शनीय स्थल हुन । यो पुरातात्विक महत्वको क्षेत्रको संरक्षण र विकासका लागि पहल हुन नसकेको गुनासो स्थानीयको छ । 

नायलमा भएको त्यो भिषण युद्धमा डोटेली फौजसंगै देउता पनि लडेका कारण मुगलहरु हारेका हुन भन्ने लोक मान्यता अहिले पनि कायम छ । बिशाल मुगल साम्राज्यलाइ सानो डोटी राज्यको फौजले जित्न असम्भव थियो तर डोटेली फौजसंग अप्रत्यक्ष रुपमा स्थानीय देवी देउता, यक्ष , किन्नर र पिजाशहरु प्नि लडेका कारण डोटेली फौजले युद्ध जितेको हो भन्ने किंवदन्तिहरु अहिले पनि सुन्न पाइन्छ । लोक काब्य भडामा पनि नरसंगै देउ लडे डोटी दरवारको भन्ने उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update