Paschim Express
संयुक्त प्यानलले गर्‍यो प्रतिबद्धता सार्वजनिक

डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा उत्रिएको संयुक्त प्यानलले प्रतिबद्धता सार्वजनिक गरेको छ । नेपाल विद्यार्थी संघ (वीपी)को नेतृत्वमा रहेको उक्त प्यानलले पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता सार्वजनिक गरेको हो ।

उक्त प्यानलबाट सभापति पदका मदन बोहराले क्याम्पसको शिक्षाको गुणस्तर सुधार गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताए । डिजिटल शिक्षामा पहुँच बृद्धि गर्ने पनि आफ्नो लक्ष्य रहेको बोहराले बताए । उक्त प्यानलबाट सचिवमा अनेरास्ववियुका रजन कैनी, कोषाध्यक्षमा अखिल (क्रान्तिकारी )का जयकला विक उम्मेदवार रहेका छन् ।

संयुक्त प्यानलका तर्फबाट सभापतिका उम्मेदवार रहेका बोहरा २०७९ चैतमा भएको स्ववियु निर्वाचनमा पराजित भएका थिए । उक्त निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको थियो ।

चैत ५ गते हुने निर्वाचनमा नेविसंघ र स्वतन्त्र समूह पनि प्यानसहित चुनावी मैदानमा छ । नेविसंघले गौरव ऐरलाई सभापतिको उम्मेदवार बनाएको छ । 

यस्तै, कर्ण धामीको नेतृत्वमा स्वतन्त्र प्यानल पनि चुनावी मैदानमा उत्रिएको छ । निर्वाचनमा ५ सय ५२ विद्यार्थीहरू मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update