Paschim Express
थपला बस्ती पाण्डेय, पनेरु, साउद र भट्टको पुख्र्यौली थलोको रुपमा रहेको पाईन्छ । हजारौं बर्ष पहिले यो बस्ती कला, संस्कृति र ईतिहासले भरिपुर्ण छ । जहाँ देवीदेवताको बर्णन देखि राजारजौटाहरुको ईतिहास पनि कोरिएको छ । डोटीको इतिहास खोज्दा थपला छुटायो भने अधुरो रहन्छ ।

कैलाशकुमार पाण्डेय, सबै समाजमा आआफ्नो संस्कृति हुन्छ । हरेक सभ्यताको आफ्नो पन हुन्छ । सभ्यताको बिकाससँगै सामाजिक क्रियाकलापहरु सम्पन्न गरिन्छन । सामाजिक संस्थाको निर्माण, सामाजिक गतिविधिहरु सम्पन्न गरिने कुराले त्यहाँ नयाँ संस्कृतिको बिकास हुन जाने हुन्छ । परिवारले संस्कार सिकाउँछ संस्कारले संस्कृतिको बिकास गर्छ । संस्कृति कुनै समाजको गहराईसम्म व्याप्त गुणहरूका समग्र रूपको नाम हो । समाजका हरेक क्रियाकलापहरु खानपान, रहन सहन, बोली भाषा, नृत्य, गायन, साहित्य, कला, वास्तु आदिमा संस्कृति परिलक्षित हुन्छ । संस्कृतिको वर्तमान रूप कुनै समाजका दीर्घ कालसम्म अपनाइएका पद्धतिहरूको परिणाम हो । 

201236815_5670371179671259_6009337892128009051_n1695727826.jpg
पुरातन थपला गाउँ

यी कुरा गरी रहदाँ म आज पश्चिमकै एक पुरातन गाउँको कुरा गर्न गईरहेको छु । थपलागाउँ विविध संस्कृतिको अनुपम संगम हो । परशुराम नगरपालिका वार्ड नं. ३ मा रहेको यो बस्ती पाण्डेय, पनेरु, साउद र भट्टको पुख्र्यौली थलोको रुपमा रहेको पाईन्छ । हजारौं बर्ष पहिले यो बस्ती कला, संस्कृति र ईतिहासले भरिपुर्ण छ । जहाँ देवीदेवताको बर्णन देखि राजारजौटाहरुको ईतिहास पनि कोरिएको छ ।
डोटीको इतिहास खोज्दा थपला छुटायो भने अधुरो रहन्छ । कत्युरबाट कालीवारि छिरेका मल्ल राजाको खुदाकोट, चाइकोट, नङरकोट हुँदै अजयमेरु जोडिएको पाइन्छ । चाय राजासँगै पाण्डेय, पनेरु, साउद, भट्ट लगायत सयांै संख्यामा काली तरेका थिए । कालि अर्थात अहिलेको महाकाली नदी तरे । काली वारि आए पछि थपलामा रहेका जाट जातिसँग लडाइँ भयो । जाटलाई पराजित गरि जाटको आवादी गरेका विभिन्न वस्तीमा बसोबास गर्न शुरु गरे । चाय राजाको चाईकोट निर्माण गरियो । लामो समय चाइकोटबाट शासन गर्दै आएका राजाका युवराजले नङरमा कोट (दरबार) बनाउने इच्छा राखे र निर्माण गरे । कोट निर्माण गर्दा भागेश्वर देवतासँग द्वन्द शुरु भयो । देवतासँगको द्वन्दमा पराजित राजाले ‘तुइ ठूलो देवता भागेश्वर मइ नानो ठाकुर नागी मल्ल राजा’ भनेर शरणागत भएर छोडेर गए भन्ने कवितन्दी छ । त्यो द्वन्द पुर्व रहेको कोटको सबै ब्यवस्थापनमा थपलाका पाण्डेय, पनेरुको भुमिका महत्वपुर्ण रहेको देखिन्छ । राजगुरुको जिम्मेवारीसँगै देव पुजनको जिम्मा पनि थियो ।
थपलाका पाण्डेयहरुको ग्वान्नी नङरमा भागेश्वर, वलकाडे महादेव, दुनिला दुनालेक खिटकेश्वर, आरागाड पासा, थपला कैलपाल, खलतल लाटाछडी, शीर्ष समैजी पुज्ने जिम्मेवारी थियो । त्यसैमा भित्री मधेस तथा मधेसका सबै देवताको पुजा लगाउने जिम्मेवारी पाण्डेयहरुको थियो । राजाले कोट छाडेर जाने बेला पनेरु, पाण्डेयहरु मध्येबाट केही मानिससँंगै लगे । त्यही समय एउटा भरत नाम गरेका रौत्यला त्यही छुटे । उनी थपलामा रहेको मडीमा जोगीसँग बस्न लागे । जोगीले तिनको नाउ भत्र्यागिरी भनेर बोलाउथे । एक समय जोगि जल समाधी लिन भृगुतीर्थ (भगाउ) गए । तिनका पछि पछि पाण्डेय, पनेरु लगायतका गाउलेहरू गए । महाकाली किनारमा सबैले अनेक अनुनय बिनय गरे । जोगीले मान्दै मानेन र भत्र्याको ब्यवस्था गर्नु होला सबैको राम्रो होला भनी समाधिस्त भए । जोगी समाधिस्त भए पछि भत्र्यागिरी (जिउना जोगी) लाई साथै ल्याएर गाउले फर्के । भत्र्यागिरी जिउना जोगीको घरजम ब्यवस्था गरियो । तिनैका सन्तान भारती कहलिए । राजाका वंशज भएकाले भारती राजा भन्ने गरिएको छ । कालान्तरमा रुपालको जोगेउडा, भट्टानीमा वसाइ सरे त्यहीबाट देशका अन्य ठाउँमा पनि फैलिए । 

255753571_6428216343886735_8015134866562970917_n1695727997.jpg
कैलपाल मन्दिर थपला

थपलासँग निकट सम्बन्ध रहेको बस्ती हो चौड, खलतल जहाँ प्वालीहरुको बसोवास थियो । जहाँ लाटाछडिको थान छ । लाटाछडी देवता पुजनमा पाण्डेयहरुको भुमिका रहेको छ । थपलासँगै जोडिएको अति प्राचीन बस्ती ग्वान्नी हो । जाट बिस्थापित भए पछि थपलामा पाण्डेय, पनेरुको बसोबास भए जस्तै ग्वान्नीको नङरमा भट्टहरुको बसोबास भयो । भट्टसँगै बोहरा, साउदको पनि बसोबास भएको थियो । पाचगाउँ ग्वान्नीमा डोटी क्षेत्रका आराध्यदेव भागेश्वरको मुल थान रहेको छ । भार्गवद्वारा पुजित भएकाले भार्गवेश्वरबाट भागेश्वर भनिएको हुन सक्ने मान्यता छ । भागेश्वरको नङरमा रहेको थानमा थपलाका पाण्डेय पुजारी थिए । थपलाको साँस्कृतिकसँग निकै गहिरो सम्बन्ध छ । बन्धुत्व, मित्रता, रीतिरिवाज, सभ्यता, संस्कृतिमा दुई बस्ती एक अर्कासँग सम्बन्धित छन् । 
रुपालको मध्य भागमा पाण्डेय गाउँ रहेको छ जुन थपलाको पाण्डेयहरुको बस्ती हो । बाह्र गाउँ जोरा, ठकुराठीबाट पुजित महादेव मन्दिरमा समेत पाण्डेयहरुनै पुजारी थिए । खेतीगाउँ थपलाको सम्बन्ध झनै बिशिस्ट छ । दुनिला स्थित खिट्केश्वर खेतिगाउका भट्ट र थपलाका पाण्डेयहरुको कुल देवता भएका र थपलाका पाण्डेय पुजारी रहेका छन् । थपलाको सम्बन्ध अन्य गर्खासँग पनि निकै गहिरो रहेको छ । उग्रतार मन्दिरमा लाग्ने जात्राको दिसेडी (दिउसोको जात) थपलाका पाण्डेयको पुजा हो । पाण्डेयहरु उग्रतारा मन्दिर नजिकैको खनमोडामा बसोबास गर्दछन् । डोटीघटालमा अवस्थित घटालको देवताको पुजनीय शिला थपलाका पाण्डेयको घट्ट रहेको र विशिष्ट परिस्थितिले पुजनीय शिला बनेको किवदन्ती छ । पाण्डेय शिला भनेर भन्ने गरिन्छ । 
पश्यागर्खामा रहेको कैलपाल देवताको मन्दिर थपलाबाट गए पनेरुहरुले लगेर स्थापित गरेका थिए । त्यहाँ अवस्थित जैसेरा बस्तीका पनेरु थपलाका नै थिए । देवताका घाँट, सिलङ्गाको जरो लगेर देवता स्थापना गरेका थिए । पनेरुको पनि कैलपाल नै कुलदेवता हो । जैसेरासँगै वुडाली, सिम, रज्यौडाका पनेरुहरुको मुलथलो थपला नै हो । थपलाका पनेरुहरु गुरु वंशमा रहेका र गुरु मन्त्र दिने र देव भक्तिमा समर्पित र मन्त्र साधनामा पारंगत मानिन्छन् । चौथानी पनेरु भनी चिनिने पनेरुहरुको शोल शिवालयमा उच्च सम्मान रहन्छ चार थानमा मुख्य जिम्मेवारी रहेकाले चौथानी कहलिएका हुन् । सिमल्ट्या, चौक्याल र वन पाण्डेय गरि थपलामा तीन थरी पाण्डेय बसोबास गर्दछन् । कुमाउको सिमल्टाबाट बसाई सरि आएका सिमल्ट्या पाण्डेयको थपलामा मुख्य भुमिका रहेको छ । गाउँको ब्यवस्थापनसँगै राजकाजमा पनि महत्वपुर्ण भुमिका थियो । 
त्यस्तै कुमाउकै चौकीबाट आएका चौक्याल पाण्डेयहरु गुरु पुरोहितको भुमिकामा थिए । मल्ल राजाका र सिमल्ट्या पाण्डेयका कुलगुरु रहेका चौक्याल पाण्डेय बाह्रथनी मानिन्छन् । त्यसै गरि वन पाण्डेय र पनेरुहरुको भुमिका पनि अति नै महत्वपुर्ण रहेको छ । यो क्षेत्रमा राजपाठ, देव पुजन र कर्मकाण्डका लागि पाण्डेय, पनेरुको भुमिका महत्वपुर्ण रहेको पाइन्छ । थपलामा पाण्डेय, पनेरुसँगै सार्की, टमटा, भेरकार आदिको भुमिका पनि मुख्य रहेकोछ । अनुपम संस्कृतिको नमुना रहेको थपलामा धेरै देवी देवताको बास रहेको छ । 
खिटकेश्वर
मानसखण्ड तिर शिवकेदार र मष्टो संस्कृति रहेको पाइन्छ । केदार संस्कृतिमा शोल शिवालयको चर्चा छ । भगवान शिवका हजारौं रुपको उल्लेख गरेको पाइन्छ । अवतारको वर्णन गर्दा उन्नाइस अवतारका बिषयमा विभिन्न पुराणहरुमा उल्लेख गरेको पाइन्छ । द्वादश ज्योतिर्लिङ्गको निकै महिमा र वर्णन गरेको पाइन्छ । कहि चौसट्ठी ज्योतिर्लिङ्गको पनि उल्लेख पाईन्छ । मानसखण्डको केदार संस्कृतिमा शोल शिवालयको उल्लेख पाईन्छ ।
शिवालयलाई महाराज भनी सम्बोधन गरिन्छ । शिवालयको मातहतमा वरदानौ, भुत, पिशाच, विभिन्न क्षेत्रका विरबिराङ्गनाको पनि चर्चा र पुजाआजाको परम्परा रहिआएको छ । कुलदेवता, इष्टदेवता, ग्राम्य देवताको रूपमा आफुसँग जोड्ने संस्कृति छ । शिवालयको छाता प्रणालीमा विभिन्न गाउँ बस्ती जोडिन्छन् । जसलाई आल भनिन्छ । शिवालयको शिरोभाग देखि पदोभाग सम्मको क्षेत्रलाई पनि आलसँग जोड्ने चलन छ । शोल शिवालयमा सबैभन्दा जेठो शिवालय असिग्रामलाई मानिन्छ । असिग्राम पछि खिट्केश्वरलाई मान्ने गरिएको छ । धमारी, चैत, फागमा उल्लेख भए अनुसार जन्मको जेठो अरु भए पनि कर्मको जेठो भागेश्वर भनिएको छ । शिवालयको एक अर्काप्रति कुनै न कुनै रुपमा सम्बन्ध रहि पाईन्छ । अधिकाश जोडिएको वरदानौ (बर पाएका दानव) का कारणले पनि छ ।
खप¥या दानवसँग भएको लडाइँमा बरदानौका सेना बनाउँदा सबै शिवालयका द्वारपाल, अगेवानी (नेतृत्व लिने) लाई सेनामा समाबेश गरि भागेश्वरको सेना निर्माण भएको र सो सैनिक सञ्जालमा आवद्ध वरदानौसँग भागेश्वरको सम्बन्ध जोडिन्छ । शिवालय संस्कृतीमा दरदनौंको पुजा गर्ने चलन छ भने मष्टो संस्कृतिमा खप¥या दानवको पुजा गर्ने चलन छ । 
शिवालयको एकअर्कासँग सम्बन्ध रहे पनि आफ्नो छुट्टै आल(क्षेत्र) रहने गरेको छ । खिट्केश्वरको पनि खेतिगाउ, थपला र थपला दक्षिण तिरको वस्ती आलका रुपमा रहेको पाइन्छ । पासालाई शिवालयको द्वारपाल मानिन्छ । खिट्केश्वरको द्वारपाल पासा, मुख्य अगेवानी कैलपाल, अगिवानीमा नौलो, कनिउपाल रहेका छन् । खिट्केश्वरको पुजा गर्ने कार्य कैलपाल प्रकट भएका थपलाका पाण्डेयले लगाउने गर्दछन् । खिटकेश्वरका बिषयमा विवाद हुदा थपल्याल पाण्डेयका लागि पुजनीय हुने गरि शिरो भाग दुनुल्लेकमा मन्दिर रहेको छ । थपलाका पाण्डेयले नै पुजा लगाउने गरि दुनिलामा खिट्केश्वरको थान रहेको छ । थपलाको देउचडामा पनि खिट्केश्वरको थान(मन्दिर) छ । गणेश चौथीमा दुनिलामा, कार्तिक शुक्ल चौथीमा दुनालेकमा पुजा लाग्ने गरिन्छ भने बैशाख संक्रान्तीमा थपलामा न्वागी चढाउँदै पुजा लाग्ने परम्परा रहेको छ ।
कैलपाल
कुरुक्षेत्रको लडाइँमा धेरै राजा रजौटाको सहभागिता थियो । धर्म युद्ध भनिएको थियो । पाण्डव पक्षलाई धर्म र कौरव पक्षलाई अधर्मको पक्ष मानिएको थियो । धर्मको पक्षमा लडेर वीर गति प्राप्त गर्ने वीरयोद्धालाई बैकुण्ठ जाने वर थियो । केही योद्धा युद्धमा सहभागिताका कारण बैकुण्ठ जान पाउने तर केही अन्य कारणले बैकुण्ठ जान नपाउने अवस्था थियो । त्यस्ता वीरयोद्धालाई शिवगण भई शिवालयको अगेवानी गर्दै पुजनीय हुने वरदान मिल्यो । यसरी वर पाएका विरयोद्धा मध्ये एक वरदानौ कैलपाल हुन् । 
शिवपार्सदहरुमा गरिएको कार्य बिभाजनमा कैलपाललाई भुमीको मालिक भनिएको छ । शिवालयमा मुलुकियाका रुपमा कैलपाललाई लिइन्छ । कैलपाल खिट्केश्वर शिवालयको मुख्य अगेवानी मानिन्छन । कैलपालको हतियार तरवार हो । कैलपालको मुख्य थान थपलामा रहेको छ । शोल शिवालयका बाईस देउरामा कैलपालको भुमिका रहे पनि मुल थान यहि हो । खप¥या दानवसँगको भागेश्वरको लडाइमा निर्माण भएको वरदानौको सेनामा पनि कैलपालको भुमिका महत्वपुर्ण नै रहेको पाईन्छ । त्यो लडाइसँगै कैलपालको भुमिका भागेश्वरसँग जोडिएको पाइन्छ । यस्तै विभिन्न घटना क्रमले शोल शिवालयसँग कैलपाल कुनै न कुनै रूपमा जोडिएको पाईन्छ । कैलपाल देउवता थपलाका केही पनेरुसँगै कैलपालमाण्डौंको जैसेरा गएको एउटा महत्वपुर्ण प्रसंग छ ।
नागी मल्ल राजकाजमा पनेरुको भुमिका महत्वपुर्ण थियो । जहिले पनि राजासँगै रहन्थे । तिनै मध्येका जैराज पनेरु राजासँगै जाँदै गर्दा विभिन्न ठाउँका सेराका बिषय चर्चा हुँदै गर्दा रुमाइल पारीको सेरोको कुरा हुन्छ । कुरा चल्दै गर्दा राजाले यो सेरो तपाईंको नै भयो भनेर जैराज पनेरुलाई बिर्ता दिएको ईतिहास छ । जैराजको सेरो जैसेरा नामले चर्चित भयो । जैराज पनेरु तिहार लगत्तै चौथीमा खिट्केश्वर, पञ्चमीमा कैलपाल र षष्ठीमा समैजी र अष्टमीमा भुवनेश्वरीको पुजाका लागि थपला पुग्दथे । उमेर आठौ दसक टेकेसँगै असमर्थता पनि बढ्यो । कैलपालको पुजा सकिए लगत्तै आज त पुजामा समावेश भए तर अर्को वर्षबाट आउन सकिन्छ १ सकिदैन १ आउन भ्याएन भने पनि क्षमा दिनु होला भनी बिन्ती गरिरहेका थिए । त्यही बेला कैलपाल प्रकट भएर जैराज पनेरुका दुबै छोरा बोलाएर दुबैलाई देवताको घण्ट(घाँट) दिए । एउटालाई कालो रंङ्ग र अर्कोलाई पहेलो घाँट दिए । समय फुर्सद मिलाएर आउन सके आउन सकेन भने यसैलाई कैलपाल मानेर पुजा गर्नु भनेर भने त्यहिबाट जैसेरा फर्केका पनेरुले त्यहाँ कैलपालको मन्दिर बनाएर पुजाआजा गर्न थालेको कविदन्ती छ । मन्दिरमा थपलाबाट दिइएका घाँट राखेर पुजा प्रक्रिया शुरु गरिएको तेही समय देखि हो । 
नौलो
चौक्याल पाण्डेय कुमाउ चौकीमा रहदाँ हरेश्वर महादेव, सिद्धनाथ, नौलो, बेतालको पुजा गर्ने मुख्य पुजारीका रूपमा थिए । बिशेष परिस्थितिमा चौकी छोड्दा कुल देवता र पुजनीय देवता डोकोमा राखेर ल्याएका थिए । डोकोमा ल्याइएका नौलोलाई थपला नजिकै रहेको चौकीमा (चाखि) स्थान दिइएको छ भने अन्य देवता पनि विभिन्न स्थानमा स्थापित गरिएका छन् । वरदानौ देवमय स्वरूपमा रहेका नौलो शिवगणका रुपमा पुजाआजा गर्ने चलन छ । 
कालिसैनी
कुरुक्षेत्रको लडाइँमा वर पाएका विरयोद्धा मध्ये एक बरदान पाएका कालिशैन हुन् । शिवपार्सदहरुमा गरिएको कार्य बिभाजनमा कालिशैनलाई शिवालयको आन्तरिक मामिला ब्यवस्थापनको भुमिका दिइएको देखिन्छ । कालिशैनलाई मुलुकीया भनिएको छ । भागेश्वरका मुख्य अगेवानी मानिएका कालिशैनको अन्य शिवालयमा पनि अति नै महत्वपुर्ण भुमिका रहेका देखिन्छ । थपलामा पनि कालिशैनको थान रहेको छ ।
कालिका
कैलपाल देवता कि इष्टदेवी कालिकाको गात(स्थान) कैलपाल मन्दिर भित्रै छ । कैलपाल देवतासँगै पनेरुका इष्ट देवी कालिका नै हुन । कालिका काल नाशाय भनिने अति शक्तिशाली देवीको रुपमा सबैले पुजा गर्ने गर्दछन् । स्वयं कैलपालले सप्तशती चण्डीको पाठ गर्दछ्न । एक खुट्टामा उभिएर मुखाग्र गरिने उक्त पाठलाई सतशैको पाठ भन्ने गरिन्छ ।
भुवनेश्वरी
भुवनेश्वरी देवीको थपलाको पश्चिम तिर कैलपाल मन्दिरको नजिकै स्थापना गरिएको छ । नौलो देवता कि इष्टदेवी रहेकी भुबनेश्वरी चौक्याल पाण्डेय र सिमल्ट्या पाण्डेयकी कुलदेवी रहेकी छन् । कार्तिक शुक्ल अष्टमीमा पुजा लाग्ने परम्परा रहिआएको छ । 
समैजी
पुरशुराम–३को शिर्षगाउँमा समैजीको थान (मन्दिर) रहेको छ । झाल (जंगल) भित्र मन्दिर भएकाले समैजाल भन्ने गरिएको हो । सिद्धसरबाट शिर्ष भनिएको स्थान भएकाले सिद्धनाथको मुलथान पनि यहि हो । सिद्धका थानमा ग्वासी समैजीसंगै राखिएको छ । नाउ र गाउँको पनि फरक फरक भएको पाइन्छ । ‘गाउँ सिद्धको हो तर नाउ समैजी’को रहेको छ । ग्वासीसमैजी सहितको सिद्धमन्दिर रहेको छ । सिद्ध, ग्वासी समैजीसँगै भित्री मधेस र तराईमा रहेका सिद्धनाथ, बैजनाथ, समैजीमा थपलाका चौक्याल पाण्डेयबाट पुजा लगाउने परम्परा रहिआएको छ ।
भैरव
थपला गाउँको बिचमा भय भुटी लिने भैरवको थान रहेको छ । नव बटुकबाट पुजा लगाइने भैरव थानमा बैशाख शुक्ल र कार्तिक शुक्ल पुर्णिामामा पुजा लाग्दछ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update