Paschim Express
डडेल्धुरामा भित्र्याइयो फूलपाती 
फाइल फोटो

डडेल्धुरा । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व डडेल्धुरामा पनि घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको छ । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याएपछि नौं वटै देवीको विधिपूर्वक पूजा आराधना गर्ने चलन रहेको छ ।

यस्तै डडेल्धुरामा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय, रणबम गण दह व्यारेक डडेल्धुरा, जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेडक्वाटर डडेल्धुराले सयुक्त रुपमा जिल्ला सदरमुकामा रहेको टुडिखेलमा शास्त्रीय विधिअनुसार पूजा गर्दै फूलपाती भित्र्याएका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेडक्वाटर डडेल्धुराका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक बीरेन्द्रबहादुर पालका अनुसार सो क्रममा बली चढाएर हर्षबढाइँ पनि गरिएको थियो ।

फूलपातीका दिन प्रकृतिको पूजा गर्ने चलन रहेको छ । पृथ्वीनारायण शाहले गोरखा दरबारबाट हनुमान ढोकामा फूलपाती भित्र्याएपछि उनका सम्पूर्ण मनोकामना पूरा भएको तथा देशवासी पनि खुसी भएपछि सुरक्षा निकायले पनि फूलपाती भित्र्याउने क्रम सुरु भएको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update