
काठमाडौँ । नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको हो । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् ।
शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन माग गर्दै पछिल्लो चरण अन्तर्गत चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हड्ताल नै घोषणा गरेको हो ।
यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।
शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ ।
शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित भएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो । महासंघले प्रधानमन्त्री संग वार्ताको माग गर्दै आएको छ ।