Paschim Express
खगराज भट्ट र विना मगरको सह-इन्चार्ज पद खारेज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अबदेखि प्रदेशमा सह-इन्चार्जको पद नराख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज रहेका खगराज भट्ट र विना मगरलाई हटाइएको छ । उनीहरूलाई अब प्रदेश समन्वय कार्यालयको सदस्यको रूपमा जिम्मेवारी दिइने छ ।

बैठकले सह-इन्चार्ज पदमा रहेका नेताहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यका रूपमा निरन्तर सक्रिय गराउने निर्णय पनि गरेको छ। साथै, कार्य विभाजनको जिम्मा अब प्रदेश समन्वय कार्यालयले लिनेछ ।

प्रदेश समन्वय कार्यालयलाई आवश्यक परेमा बिस्तार गर्न सकिनेछ भने त्यसका लागि प्रदेश कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले अन्तिम निर्णय लिनेछ ।

बैठकले केन्द्रीय समितिप्रति जबाफदेही हुने गरी सदस्यहरूको कार्य विभाजन गर्ने निर्णय गरेको छ । यस क्रममा प्रदेश समन्वय कार्यालयलाई पहिले तय गरिएको मापदण्डअनुसार नै सञ्चालन गरिनेछ ।

यसैबीच, बैठकले केही जिल्लामा इन्चार्ज पनि तोकेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लाको इन्चार्जमा मनलाल खत्रीलाई नियुक्त गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update