Paschim Express
अछामको जयगढ बजारमा भीषण आगलागी: २९ घर जले, सात करोडभन्दा बढीको क्षति

अछाम  । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको भीषण आगलागीमा २९ घर जलेर नष्ट भएका छन् ।

मुख्य बजार क्षेत्रमा रहेको पुष्पराज शर्माद्वारा सञ्चालित आइएमई केन्द्रमा ग्याँस सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको हो। आगलागीबाट बजार पूर्णरूपमा ध्वस्त भएको छ ।

जलेका घरमध्ये ११ वटा घरमा स्थानीय व्यापारीहरूले व्यवसाय सञ्चालन गर्दै आएका थिए । जिल्ला प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीका अनुसार आगलागीबाट करिब सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। पीडितहरूबाट क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य अगाडि बढाइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगलागी पीडितलाई राहतस्वरूप ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश विपद् परिषद्को बैठकले सो राहत रकम सम्बन्धित गाउँपालिकाको बैंक खातामा पठाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार, गाउँपालिकाले स्पष्ट मापदण्ड तयार गरी पीडितलाई मानवीय सहायता रकम वितरण गर्नेछ । साथै, प्रारम्भिक विवरण आएपछि थप सहयोग पनि गरिने प्रदेश सरकारको भनाइ छ ।

स्थलगत निरीक्षण तथा आवश्यक समन्वयका लागि सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई घटनास्थल पठाउने निर्णय पनि गरिएको छ । मुख्यमन्त्री शाहले पुनर्निर्माणको सन्दर्भमा स्थानीय पालिका, प्रदेश सरकार तथा संघीय सरकारबाट समन्वय र सहयोगको अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update