Paschim Express
अत्तरियामा मन्दिर परिसरभित्रै  विभत्स हत्या: टाउकोमा ढुंगा प्रहार,  आँखासमेत फुटाइयाे

कैलाली । कैलालीको अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा बुधवार बिहान एक पुरुषको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडिको मन्दिर क्षेत्रमा शव फेला परेपछि प्रहरीले घटनालाई हत्या भएको पुष्टि गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाका अनुसार मृतकको टाउकोमा ढुङ्गाले प्रहार गरिएको थियो, जसका कारण अनुहारसमेत चिन्न नसकिने अवस्थामा छ । शवको टाउकोको बायाँ भाग फुटेको, आँखा फुटाइएको र नजिकै रगत लागेको ढुङ्गा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतकको उमेर अन्दाजी ३५–४० वर्षको जस्तो देखिएको छ भने उनको साथमा लुगा बाहेक अन्य कुनै पनि सामग्री फेला परेको छैन। 

प्रहरीले प्रारम्भिक अनुसन्धानमा हत्या मन्दिरको भित्रै भएको आशंका गरेको छ । शव भेटिएको स्थानभन्दा केही पर मन्दिर प्राङ्गणमा रगत देखिएको र त्यसबाट शव घिसारेर तल ल्याइएको देखिएको डिएसपी थापाले बताएका छन् ।

मन्दिरका पुजारी टिका दत्त पनेरुले आफूले बिहान साढे ६ बजे मात्रै शवको बारेमा थाहा पाएको जनाएका छन् । पतञ्जलि योग समितिका सदस्यहरूले जानकारी गराएपछि घटनाबारे प्रहरीलाई सूचित गरिएको हो । पुजारीका अनुसार मन्दिरमा प्रवेश गर्न सकिने तीन वटा अन्य गेटहरू खुला थिए 

स्थानीयहरूले प्रहरी कार्यालय अगाडिको मन्दिरमा यस्तो भीषण हत्या हुँदा समेत प्रहरी अनविज्ञ रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले प्रहरीको गम्भीर लापरबाही भएको भन्दै आलोचना गरेका छन् ।

हाल शवलाई सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update