Paschim Express
दीपेन्द्रसिंह ऐरीले बनाए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान

काठमाडौं ।  नेपाली टोलीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको बिहीबार खेलिएको कुवेतविरुद्धको खेलपछि यो कीर्तिमान दीपेन्द्रको नाममा लेखिएको हो । 

यो खेलपछि उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक पनि डक आउट (शून्य रनमा आउट) नहुने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् । कुवेतविरुद्धको खेल दीपेन्द्रले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको ७६ औं खेल थियो । 

उनी यो खेलपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६६ पाली खेल्दै एकपटक पनि डक आउट नहुने ब्याट्सम्यान बनेका छन् । २५ वर्षीय दीपेन्द्र वेस्ट इन्डिजका प्रभावशाली खेलाडी मार्लोन सामुएल्सलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन् । 

मार्लोन सामुएल्स लगातार ६५ खेलमा डक आउट हुनबाट जोडिएका थिए। नेपाली टोलीका अलराउण्डर दीपेन्द्रले उनकै कीर्तिमान तोडेका हुन् । 

कुवेतविरुद्धको खेलमा दीपेन्द्रले आक्रामक पाली खेल्दै केवल १२ बलमा तीन छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाए। उक्त खेलमा नेपालले कुवेतलाई ६ विकेटको फराकिलो अन्तरले हरायो ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update