Paschim Express
सुदूरपश्चिमका क्याम्पसहरूमा नेविसंघको दबदबा,  अखिल क्रान्तिकारी निल

डडेल्धुरा । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रारम्भिक नतिजा अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) अधिकांश क्याम्पसमा विजयी हुँदै बलियो संगठनको रूपमा उदाएको छ । १६ मध्ये १४ क्याम्पसमा निर्वाचन सम्पन्न भइसकेका छन्, जसमध्ये १२ क्याम्पसको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजाहरूअनुसार ७ क्याम्पसमा नेविसंघ विजयी बनेको छ भने अनेरास्ववियुले ५ क्याम्पसमा जित हात पारेको छ । यता, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) भने हालसम्म कुनै क्याम्पसमा नेतृत्व तहमा जित निकाल्न असफल देखिएको छ ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, जगन्नाथ क्याम्पस, मणिलेक क्याम्पस, त्रिवेणी क्याम्पस, दार्चुला क्याम्पस, सीताराम क्याम्पस र बडीमालिका क्याम्पसमा नेविसंघको प्यानल वा उम्मेदवारले निर्णायक जित हात पारेका छन् । केही क्याम्पसमा त नेविसंघका उम्मेदवार निर्विरोध विजयीसमेत भएका छन् ।

यता अनेरास्ववियुले जयपृथ्वी क्याम्पस, पाटन क्याम्पस, घण्टेश्वर क्याम्पस, गोकुलेश्वर क्याम्पस र बाजुरा क्याम्पसमा नेतृत्व तहमा जित हासिल गरेको छ । गोकुलेश्वर क्याम्पसमा सभापतिमा अनेरास्ववियु विजयी भए पनि सचिव र कोषाध्यक्ष संयुक्त प्यानलबाट विजयी भएका छन्, जसले गठबन्धनको राजनीति बलियो भएको देखाउँछ ।

विशेष उल्लेखनीय पक्ष के हो भने धेरै क्याम्पसहरूमा नेविसंघविरुद्ध विपक्षी गठबन्धन बने पनि नेविसंघले बहुमत स्थानमा सफलता प्राप्त गरेको छ।

तर, निर्वाचनमा असहमति र विवादले केन्द्रीय क्याम्पस र अछामको जनता क्याम्पसमा भने निर्वाचन हुन सकेन । कैलाली बहुमुखी र टीकापुर बहुमुखी क्याम्पसमा मतदान सम्पन्न भएसमेत मतगणना प्रक्रिया सुरु हुन बाँकी छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुदूरपश्चिमका कलेजहरूमा सम्पन्न स्ववियु निर्वाचनमा पनि नेविसंघले अग्रता लिएको थियो, जसले संगठनको निरन्तर प्रभाव झल्काएको छ ।

स्ववियु निर्वाचनको पछिल्लो परिणामले सुदूरपश्चिममा नेविसंघको सशक्त उपस्थिति र अनेरास्ववियुको प्रतिस्पर्धात्मक प्रभाव देखिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update