Paschim Express
नीति महाधिवेशनमार्फत काँग्रेस सुधारको अभियानमा सबै लाग्नुपर्छ : महर

डडेल्धुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मंसिरमा हुने नीति महाधिवेशनपछि काँग्रेस सुधार हुने बताएका छन् ।

नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्ला सदरमुकाममा आइतबार आयोजना गरेको दसैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य महरले यस्तो बताएका हुन् ।

‘अहिले धेरै आरोपप्रत्यारोप गर्नुभन्दा नीति महाधिवेशनबाट वर्तमानको गम्भीर समीक्षा र भावी रणनीति बनाएर काँग्रेस सुधारको अभियानमा सबै लाग्नुपर्ने देखिएको छ,’ उनले भने ।

मंसिर १३ गतेदेखि हुने नीति महाधिवेशनमार्फत नेपाली काँग्रेसलाई सुधार गर्नका लागि सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने तर्क उनको थियो ।

नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेता तथा पूर्व सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, अमरगढी नगरपालिकाका मेयरसमेत रहेका नेपाली काँग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशी लगायतको सहभागिता रहेको थियो । 

नेपाल विद्यार्थी संघ डडेल्धुराले दसैँ, तिहार र छठ पर्वको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको जिल्ला अध्यक्ष ऐरले बताए ।

‘यसअघि डडेल्धुरा अस्पतालका बिरामी, कुरुवा र अस्पतालका कर्मचारीलाई फलफूल वितरण गरेका थियौं,’ अध्यक्ष ऐरले भने, ‘आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेका छौं ।’
 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update