
डडेल्धुरा । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ठुलो सफलता हात पारेको छ। १५ मध्ये १४ वटा आंगिक क्याम्पसमा सम्पन्न निर्वाचनमा नेविसंघले ९ क्याम्पसमा जित निकाल्दै आफ्नो वर्चस्व जमाएको हो।
अर्कोतर्फ, अनेरास्ववियू (एमालेनिकट) ले पाँच क्याम्पसमा जित दर्ता गर्न सफल भएको छ भने माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) भने यसपटक एक स्थानबाट पनि विजयी हुन सकेन।
नेविसंघको जितेका क्याम्पस
दुर्गालक्ष्मी क्याम्पस, कैलाली — भुवन महरा
जगन्नाथ क्याम्पस, बैतडी — रोशन भट्ट
मणिलेक क्याम्पस, बैतडी — मनोजदत्त ओझा
त्रिवेणी क्याम्पस, डडेल्धुरा — प्रकाश अवस्थी
दार्चुला क्याम्पस — प्रकाश बडू
सीताराम क्याम्पस, डोटी — उमेश बलायर
बडीमालिका क्याम्पस, बाजुरा — सविन रावत
कैलाली क्याम्पस — सन्तोष पन्त
टीकापुर क्याम्पस — किरण साउँद
अनेरास्ववियूले जितेका क्याम्पस:
जयपृथ्वी क्याम्पस, बझाङ — तिलकचन्द्र बोहरा
पाटन क्याम्पस, बैतडी — सञ्जय भण्डारी
घण्टेश्वर क्याम्पस, डोटी — सुरत बोहरा
गोकुलेश्वर क्याम्पस, दार्चुला — सुनिल डागा
बाजुरा क्याम्पस — लक्ष्मण रोकाया
आंगिक क्याम्पसमा लोकतान्त्रिक अभ्यास कायम रहँदा पनि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस भने अझै निर्वाचनविहीन अवस्थामा छ । अनेरास्ववियू (एकीकृत समाजवादी) र अखिल (समाजवादी) निकट विद्यार्थी संगठनहरूले निर्वाचन संयोजक कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया नै रोकिएको हो।
उनीहरूले वास्तविक विद्यार्थीहरूलाई मतदान गर्न नदिने प्रयास भएको आरोप लगाउँदै १८ चैतमा उम्मेदवारी दर्ताको अघिल्लो दिन तालाबन्दी गरेका थिए। सोही कारण, क्याम्पस प्रशासनले निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्यो।
सन् २०१० तिर स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अहिलेसम्म एक पटक पनि स्ववियु निर्वाचन हुन सकेको छैन। यस्तै, विश्वविद्यालयकै अर्को आंगिक क्याम्पस अछामको जनता क्याम्पसमा पनि मतदान हुन सकेको छैन।