
बाजुरा । लामो समयदेखि राहतको पर्खाइमा रहेका बाजुराका बाढीपहिरो तथा भूकम्पपीडित घरपरिवारले अन्ततः तेस्रो किस्ता राहत रकम पाउने भएका छन्। आर्थिक वर्ष २०७७/७८ यता रोकिएको राहतको तेस्रो किस्ता अब वैशाख १० गतेभित्र पीडितहरूको खातामा जम्मा गरिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
तेस्रो किस्ता रकम वितरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले संयुक्त रूपमा रकम छुट्याउने निर्णय गरेका थिए। उक्त निर्णयअनुसार स्थानीय तहले १० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र संघीय सरकारले ६० प्रतिशत रकम व्यहोर्ने व्यवस्था गरिएको थियो।
यस अन्तर्गत हिमाली गाउँपालिकाका १२९ घरपरिवारले दुई करोड ४० लाख, स्वामीकार्तिक खापर गाउँपालिकाका १०६ घरपरिवारले ४२ लाख, जगनाथका १०० परिवारले २० लाख, गौमुलका ४८ परिवारले ९६ लाख, खप्तड छेडेदहका ३२ परिवारले ५७ लाख, बुढीगङ्गाका ८६ परिवारले दुई लाख र बडीमालिकाका ३७ घरपरिवारले ६४ लाख रुपैयाँ पाउने भएका छन्। कुल ५३८ घरपरिवारलाई छ करोड १३ लाख ७० हजार रुपैयाँ वितरण गरिनेछ।
यसअघि पनि विभिन्न पालिकाका केही पीडित परिवारले पहिलो र दोस्रो किस्तामा रकम प्राप्त गरेका थिए। हिमाली, खप्तड छेडेदह, बुढीगङ्गा, बडीमालिका र त्रिवेणी गाउँपालिकाका केही परिवारले पहिलो र दोस्रो किस्ता मार्फत एक करोड ७५ लाख रुपैयाँ पाइसकेका छन् भने जगनाथका पीडितहरूले पहिलो किस्तामा दुई लाख ७० हजार रुपैयाँ प्राप्त गरिसकेका थिए।
हिमाली गाउँपालिकाका बाढीपहिरोपीडित रमेश विक भन्छन्, “पहिलो र दोस्रो किस्ताको पैसा पाएपछि हामीले घर बनाउन सुरु गर्यौँ। तर तेस्रो किस्ताको पैसा दिन वर्षौं लाग्यो। अब बल्ल जिल्ला प्रशासन कार्यालयबाट पैसा आउने पक्का भयो भनेर आश्वासन पाएका छौँ।”
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार, “२०८१ साल असोज १३ मा म बाजुरा आएपछि जिल्लाभरिका बाढीपहिरो तथा भूकम्पपीडितको विवरण सङ्कलन गरें। त्यसपछि वास्तविक पीडितहरू पहिचान गरेर गृह मन्त्रालय तथा अन्य निकायसँग निरन्तर समन्वय गर्दा अहिले बल्ल रकम जिल्लामा आएको हो।”
तेस्रो किस्ता रकम वितरणसँगै घर निर्माण कार्य पूरा गर्न नसकेका पीडितहरूले आफ्नो बाँकी काम सक्न पाउने छन्। तर अझै पनि केही पीडित परिवार राहत रकमको पर्खाइमा छन्, जसको विवरण संकलन र प्रक्रियागत काम अघि बढिरहेको प्रशासनले जनाएको छ।