Paschim Express
कञ्चनपुरका २२ वर्षीय राहुल, जसले ४ हजार जनाको ईसेवाबाट १ करोड झ्वाम पारे

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न अलर्ट एसएमएसमार्फत फिसिङ लिंक पठाई चार हजारभन्दा बढी व्यक्तिका ईसेवा खाताबाट रकम चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्ति कञ्चनपुरको कृष्णपुर–१ स्थायी ठेगाना भई हाल काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा हुन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले विशेष अपरेसनमार्फत कालीमाटीबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार आरोपी बुढाले “तपाईंको खाता सस्पेण्ड हुन लागेको छ” भन्ने किसिमका झूटा एसएमएस पठाएर प्रयोगकर्तालाई फिसिङ लिंकमा जान बाध्य पार्थे । ती लिंक खोल्ने बित्तिकै सम्बन्धित व्यक्तिको ईसेवा खातामा अनधिकृत पहुँच प्राप्त गरी उनले रकम चोरी गर्ने गरेका थिए ।

प्रहरी अनुसन्धान अनुसार, चोरी गरिएको रकममध्ये एक करोड दुई लाख रुपैयाँ उनले ‘पशुपति ग्लोबल ईनोभेशन प्रालि’को मर्चेन्ट खातामा ट्रान्सफर गरेका छन् ।

राहुल बुढालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update