Paschim Express
डडेल्धुराको उग्रतारा मन्दिरमा अष्टमी मेला (तस्बिरहरु)

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष जस्तै यसवर्ष पनि महाअष्टमीको मेला लागेको छ । आइतबार उग्रतारा भगवती मेलामा बिहानैदेखि भक्तजनहरुको घुइँचो छ ।

डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका वडा नम्बर ८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित शक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा लागेको मेलामा हजारौं दर्शनार्थीहरु पूजा आराधना गर्न पुगेका छन् ।

अष्टमी मेलामा राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवम् आफन्तजनसँगको भेटघाट मौकाको रुपमा प्रख्यात रहेको छ ।

किम्बदन्तीअनुसार करिब २५ सय वर्ष पहिले लटाउली गाउँबस्ने साँकी जातिका स्थानीयले बारीमा हलो जोत्दै गर्दा हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको थियो । त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update