
कैलाली । धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा एसईई परीक्षाको समयमा भएको भनिएको यौन दुर्व्यवहार प्रकरणमा एक किशोरीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । चिट चेकिङको नाममा शिक्षकले गोप्य अंग छोएको आरोपसहित किशोरीले अनलाइनमार्फत प्रहरी प्रधान कार्यालयमा उजुरी दिएकी हुन् ।
प्रहरी स्रोतका अनुसार उक्त उजुरी बुधबार मात्रै कैलाली जिल्ला प्रहरी कार्यालयमा आइपुगेको हो । किशोरीले आफू मात्र नभई अरु केटी साथीहरूमाथि पनि परीक्षा केन्द्रमै दुर्व्यवहार भएको दाबी गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनाको गम्भीरताका साथ अध्ययन सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार विद्यालयका शिक्षक तथा परीक्षा केन्द्रमा खटिएका अन्य शिक्षकहरूसँग सोधपुछको प्रक्रिया अगाडि बढाइएको छ ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक प्रमाण संकलन तथा पीडितको बयान लिने प्रक्रिया अघि बढाइरहेको जनाएको छ । यौन दुर्व्यवहारसम्बन्धी घटनामा शून्य सहनशीलता अपनाउने प्रहरीको भनाइ छ ।
शिक्षकको यस्तो व्यवहारले परीक्षा केन्द्रको सुरक्षामाथि समेत प्रश्न उठाएको छ । स्थानीयस्तरमा यसबारे चासो बढ्दै गएको छ भने विद्यालय प्रशासन भने हालसम्म सार्वजनिक रूपमा प्रतिक्रिया दिन तयार देखिएको छैन ।
यस्तो संवेदनशील समयमा किशोरीले आवाज उठाउनु नै साहसिक कदम मानिएको छ । अनुसन्धान निष्पक्ष र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै पीडित परिवारले दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।