Paschim Express
सुदूरपश्चिममा लागूऔषध नियन्त्रणका लागि सुपरिवेक्षण समिति गठन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले लागूऔषधजन्य गतिविधि नियन्त्रणका लागि सुपरिवेक्षण समिति गठन गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा लागूऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति गठन गरेको हो । 

समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीन वटै सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखहरू रहेका छन् । 

मन्त्रिपरिषद् बैठकले भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकको अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । 

त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरिएको मुख्यमन्त्री कमलबहादुर शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिए । 

समितिले राजश्व अभिवृद्धि, भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन सहनिकरण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्य विवरण र कार्य योजना तयार गरेर कार्यान्वयन गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update