नवरात्र सुरु नहुँदै वारी पारी डाँडामा सुनिने बिगुल र भोक्करको आवाज सुनिएका छैनन् । गाउँ गाउँमा रहेका मठ मन्दिरमध्ये धेरै जसो मठ मन्दिर सामूहिक नवरात्र बस्नेका लागि सिंगारिएका हुन्थे । कतै मात्र सामूहिक नवरात्र बसेको देखिन्छ ।
कुनै समय नवरात्रअघि नै सिंगारिने अधिकांस मन्दिरको सरसफाई भएको पनि देखिदैन । एक, डेढ दशक अघिसम्म सुदूर पहाडका गाउँहरुमा देखिने चहलपहलमा निकै कमि आएको छ । बसाइसराईंले रित्तिन थालेका गाउँमा दसैंको समय देवीदेवताको पूजाका लागि आउनेहरुको संख्या पनि हरेक वर्ष कम हुँदै जान थालेको छ । थात थलोबाट बसाइसराईसंगै सुदूरपश्चिमको मौलिक पूजा प्रधान दसैं पनि लोप हुँदै गएको छ ।
सानातन संस्कृतिका अनुयायीहरुले बिस्तारै आफ्नो संस्कृति बिर्संदै जान थालेपछि मौलिक दसैं पनि बिस्तारै आधुनिक दसैंमा परिणत हुन थालेको हो । पहाडका गाउँहरु रित्तिए । गाउँ रित्तिएसंगै संस्कृति पनि विस्तारै रित्तिन थालेको दुई दशक बढी भएको छ ।
गाउँका पुरुषहरुले सामूहिक रुपमा गाउँका मठ मन्दिरमा घटस्थपना गर्ने, नाँै दिनसम्म एक छाक खाना खाएर मन्दिरमै बस्ने, दैनिक भगवती देवीको पूजा आराधना गर्ने, वार्षिक रुपमा भएका गाउँका राम्रा नराम्रा सबै कुरामा छलफल गर्ने, नवमीको दिन पूजा हवन यज्ञ गर्ने र प्रसाद ग्रहण गरेपछि घर फर्कने ।
दसैंका दिन आफ्नाआफ्ना कुल देवताको पूजा हवनपछि प्रसादका रुपमा तिलक ग्रहण गर्ने वैदिक पद्धतिको दसैं बिर्सेर दुई दशक यता सुदूरपश्चिममा पनि आयातित दसैं मनाउन थालिएको छ । पछिल्लो समय सुदूर पहाडका गाउँमा मनाइने परम्परागत दसैं विस्तारै लोप हुन थालेको छ ।
देशका अन्य भागमा मनाइने दसैंभन्दा भिन्न शैली र वैदिक परम्पराअनुसार मनाइने गरेको दसैंको मौकिलकता गुम्दै जान थालेको र पछिल्लो पुस्ताले परम्परागत दसैंका बिषयमा चासो राख्न छाडेको छ । पितृ बिर्सजन नसकिंदै नवरात्र बस्ने मठमन्दिरको सरसफाई, सामूहिक रुपमा नवरात्र बस्नेहरुका लागि आवश्यक प्रवन्ध, दैनिक पूजाआजाका लागि सामाग्री जुटाउने काम भइसक्थ्यो ।
सामूहिक नवरात्रमा सबै जातजातीको समान सहभागीता सुनिश्चित हुन्थ्यो । तर पछिल्लो समय भने यस्ता सबै खाले परम्परा लोप हुन थालेका छन् । पछिल्लो समय दसैं मनाउने चलन पनि परिवर्तन हुँदै गएको छ । नौँ दिनसम्म सामूहिक रुपमा मठमन्दिरमा निरहार बसेर पूजा गर्ने र दशमीका दिन आफ्नाआफ्ना कुल देवताको पूजा गरेर मात्र दसैं टिका लगाउने चलन हराउँदै गएको छ ।
‘परम्परागत दसैं विस्थापित हँुदै जान थालेको छ,’ सुदूर संस्कृतिका अनुसन्धानकर्ता डा. मोहन भट्ट भन्छन्, ‘टिका प्रधान दसैंले ठाउँ लिन लागेको छ ।’ धेरै जसो पुराना परम्परा पछिल्लो सयम विस्थापित हँुदै जान थालेको पनि डा. भट्टले बताए । ‘पुराना मान्यता र असल परम्पराको सट्टा यस क्षेत्रमा पनि दसैंमा विकृति निम्तीन थालेको छ,’ डा. भट्टले भने, ‘संस्कृतिले समाज र सभ्यतालाइ जोगाएर राख्छ भन्ने कुरा विस्तारै वैदिक संस्कृतिका अनुयायी बिर्सदै जान थालेका छन् ।’
अर्का संस्कृतिविद् आचार्य गोबिन्दराज पन्तका अनुसार सुदूरमा मनाइने दसैं पूजा प्रधान दशैं हो । उनी भन्छन्, ‘घटस्थापनादेखि वैदिक विधिअनुसार देवीको दैनिक पूजा अर्चना, अष्टमीका दिन कुभिण्डोका बली र महाष्टमी पूजा, नवमीका दिन हवन यज्ञ र दशमीका दिन कुल देवताको पूजा गर्ने परम्परा हो ।’
यस क्षेत्रमा मनाइने दसैं र देशका अन्य भागमा मनाइने दसैंमा केही भिन्नता रहेको पन्तको भनाई छ । उनले भने, ‘राम्रो खानपान, राम्रो लगाउने, इष्ट मित्रकहाँ जाने, घुमफिर गर्ने, रमाइलो गर्ने परम्परा यस क्षेत्रमा थिएन ।’ नौँ दिनसम्म एक छाक शुद्ध खाना खाने, सामूहिक रुपमा मठमन्दिरमा बस्ने, राती पनि मठ मन्दिरमा बस्ने, नवमीका दिन हवन यज्ञ गरेर मात्र घर जाने परम्परा रहेको आचार्य पन्तले बताए । नौं दिनसम्म मठमन्दिरमा पूजा आराधनासंगै गाउँका राम्रा नराम्रा वर्ष भरिका घटनाका बिषयमा र आउने वर्षका लागि सामूहिक कार्यक्रम तय हुने परम्परा लगभग समाप्त नै भइसकेको छ । ‘सञ्चारको विकासले आधुनिक दसैं यस क्षेत्रमा प्रवेश गरेको लामोसमय भएको छैन,’ संस्कृतिविद हरिभक्त जोशी भन्छन्, ‘बसाइसराई गर्दै देशका बिभिन्न भागमा यस क्षेत्रका बासिन्दा जान थालेपछि दसैं पनि बिस्तारै आधुनिक हुन थालेको हो ।’
डेढ दशकयता मात्र सुदूरका पहाडी जिल्लामा फरक शैलीमा दसैं मनाउनेको जमात बढ्दै जान थालेको संस्कृतिविद जोशीले बताए । उनले भने, ‘५० नाघेको पुस्ता अहिले पनि दसैंमा थातथलोमा फर्केर मठमन्दिरमा परम्परागत रुपमा दसैं मनाउने गर्छन ।’ तर यो संख्या बिस्तारै घट्दै जान थालेको पनि उनले बताए । ‘नयाँ पुस्ता परम्परागत दसैंभन्दा आयातित दसैंमा बढी रमाउन थालेका कारण पनि बैदिक दसैं लोप हुन थालेको हो,’ आचार्य गोबिन्दराज पन्त भन्छन्, ‘अन्य समुदायका राम्रा कुरा लिने र आफ्ना वैदिक परम्परालाइ पनि नबिर्सिने गरि दसैं मनाउनु पर्छ ।’
बिजया दशमी अर्थात असत्यमाथि सत्यको बिजय भएको दिन । मानवताको बिजय भएको दिन । इश्वरीय शक्तिले आसुरी शक्तिलाई पराजित गरेको दिन । पुराणहरुमा उल्लेख भएअनुसार थुप्रै कथाहरु छन् । तर देवी भगवतलाई आधार मानेर यस सनातनीहरुले दसैं मनाउँदै आएका हुन् । देवी भगवतीको अनुष्ठान यज्ञ, पाठ बिजयदशमीका दिन कुल देवताको पूजा । यो परम्पार हराउँदै जान थालेपछि दसैंका बिषयमा अनुसन्धान कर्ताहरुले सनातनी दसैंसम्म नपुगेर उनको अनुसन्धान अधुरो हुन्छ ।
चैतमा मनाइने दसैं रामायाणकालीन समयदेखि सुरु भएको हो भने अहिले मनाइने दसैं पौराणिक कालदेखि सुरु भएको हो । दुबै दसैंको तात्वीक अर्थ एउटै भए पनि मनाउने तरिका फरक हुन् । शाहवंशीय राजाहरुले एउटै भाषा एउटै भेष, एउटै राजा एउटै देशको नारा दिएर भाषा, भेषभुषासंगै बिस्तारै संस्कृति पनि अतिक्रमण हुने क्रममा दसैं पनि देशभरि एउटै खाले मनाउने मानसिकताको बिस्तारै विकास भएको पाइन्छ । पटकपटक दसैं बहिष्कार गर्ने अभियानहरु चले, त्यो त्यसै कारण हो ।
हरेक समुदायको आफ्नो संस्कृतिअनुसार दसैं मान्ने परम्परा बिस्तारै लोप हुँदै गएको हो । तर सुदूरपश्चिम प्रदेशमा भने सांस्कृतिक अतिक्रमण नभएर यस क्षेत्रका बासिन्दाले बिस्तारै आधुनिकताका नाममा संस्कृतिमाथि आफैं आक्रमण गरेको पाइन्छ । दुइ दशक अघिसम्म यस क्षेत्रमा मनाइने दसैं मौलिकतामा आधारित थियो । तराइ क्षेत्रमा बसाइसराइ गरेकाहरु पनि दसैंमा पहाड उक्लिने र आफ्नो संस्कृति अनुरुपको दसैं मनाउने गर्थे ।
तर बिस्तारै पहाडबाट देवी देउता समेत बसाइसरेर तराई लैजान थालेपछि यस क्षेत्रमा दसैं मान्ने परम्परा पनि आयातित हुन थालेको हो । तराईमा बहुआयामिक समाजमा एक अर्काका संस्कृति अपनाउने क्रममा सबैभन्दा पहिले सनातनी दसैं अतिक्रमणमा परेको देखिन्छ । ९ दिन सम्म इष्टमित्र कहाँ जाने, खसीबोका काट्ने, खानेपीने रमाइलो गर्ने, जुवातास खेल्ने, नयाँलुगा लगाउने, दसैंमा नयाँ कामको सुरुवात गर्ने जस्ता परम्परा वाहिरबाट आएका हुन् । देवभूमी सुदूरका शक्तिपीठहरुमा हुने परम्परागत पूजाआजामा पनि विस्तारै बाह्य संस्कृति परम्पार हावी हुन थालेको देख्न सकिन्छ ।
सबै जातजाती, वर्ग र समुदायको दसैंमा हुने सामूहिक पूजा आराधनामा हुने सहभागिता पनि विस्तारै समाप्त हुन थालेको छ । नयाँ पुस्तालाइ मौलिक दसैंका बिषयमा धेरै जानकारी नै छैन । नयाँ पुस्ताका युवायुवतीका लागि दसैं मनोरञ्जनको पर्व हुन थालेको छ । कैलाश पर्वत श्रृंखलासंग जोडिएको सुदूरपश्चिमको सभ्यता कैलाश पर्वत जतिकै प्राचिन सभ्यता हो भन्ने बिषयमा पछिल्लो पुस्ता पुरै अनिभिज्ञ छ ।
अझ त्यसमा पनि स्मार्त सभ्यता संसारकै पुराना सभ्यता मध्येको एक हो र हामिले मनाउने हरेक पर्व पनि मानव सम्यताका प्राचिन पर्व हुन भन्ने हेक्का धेरैलाई छैन । अझ धेरैलाइ यो बिषयमा जानकारी नै छैन भन्दा पनि हुन्छ । फाइल तस्वीर ः अष्ट भैरव सिद्ध गरि स्थापना भएको डडेलधुरा र यस क्षेत्रको एकमात्र भगवती मन्दिरमा भागेश्वर ४ मा प्रसाद ग्रहण गर्दै स्थानीयहरु । डीआर पन्त