
डडेल्धुरा । डडेल्धुराबाट जन्ती लिएर कञ्चनपुर फर्किंदै गरेको स्कारपियो आइतबार राति दुर्घटनामा पर्दा दुलाहा–दुलहीसहित ७ जना घाइते भएका छन् ।
डडेल्धुराको परशुराम नगरपालिका–७ मलासबाट जन्ती लिएर कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर जाँदै गरेको भारतीय नम्बर प्लेट युके ०६ पिए ४२४९ रहेको स्कारपियो राति करिब ९:४५ बजे भीमदत्त नगरपालिका–३ तिलकपुरमा दुर्घटना भएको हो । स्कारपियो भारतीय नागरिकले चलाएको थियो ।
दुर्घटनामा बझाङको वित्थडचिर गाउँपालिकाका २५ वर्षीय डम्मर खडायत, ३२ वर्षीया त्रिमली खडायत, डडेल्धुराको परशुराम नगरपालिका–८ की २२ वर्षीया शान्ति बोहरा, कैलालीको गोदावरी नगरपालिका–२ की २२ वर्षीया मनिषा धामी र १६ वर्षीया भुमिका धामी घाइते भएका छन् । उनीहरूको उपचार महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा भइरहेको छ ।
त्यस्तै, भीमदत्त नगरपालिका–६ का २९ वर्षीय दुलाहा लक्ष्मण खडायत र परशुराम नगरपालिका–७ मलासकी २२ वर्षीया दुलही बशन्ति धामी पनि घाइते भएका थिए । प्रहरीका अनुसार उनीहरू उपचारपछि घर फर्किसकेका छन्।
दुर्घटनापछि स्कारपियो चालक फरार रहेका छन् र उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।