Paschim Express
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौँ । सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

यस्तै, अर्का एक बोर्ड सदस्यका अनुसार बोर्ड बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए ।

ती पदाधिकारीका अनुसार परीक्षा सञ्चालन जिल्ला समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारीलाई नै परीक्षाको सबै जिम्मा दिने विषयमा छलफल भएको छ । बैठकमा 'निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको पनि सक्छन्' भन्नेमा अधिकांशको मत मिलेको थियो ।

बैठकमा सबै शिक्षकहरू आन्दोलनमा नआएकोले ती केन्द्रमा शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राख्न सकिने विषयमा छलफल भएको थियो ।  

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update