
डडेल्धुरा । विश्वका लागि शान्तिको प्रतीक बनेको लुम्बिनीका नजिकका युवक सुदीप न्यौपानेले जीवनको अन्तिम सास युद्ध र हिंसाको भूमिमा त्याग्नुपर्ला भन्ने कल्पना कसैले गरेको थिएन । सुदीप धरानमा पब्लिक हेल्थ अध्ययन गर्दै थिए । उनी चारदिनअघि आमासहित पारिवारिक भ्रमणमा भारतको जम्मू-कश्मीर पुगेका थिए । तर मंगलबारको दिन उनी फर्केर आउने बाटोमा होइन, इतिहासका रक्ताम्मे पानामा नाम लेखाउने नियतिमा थिए ।
पहल्गामको बैसरन उपत्यकामा पर्यटकको भीडमा हिँडिरहेका उनलाई चार जनाको समूहमा आएका बन्दुकधारीले रोकेर सोधे: ‘तिम्रो नाम र धर्म के हो ?’ जवाफ दिएपछि उनले पाए गोली ।
शान्तिको देशबाट गएका ती युवकले जवाफमा जीवन गुमाए । पारिवारिक स्रोतका अनुसार सुदीपले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कश्मीर पुगेको तस्बिर पनि आफ्नो फेसबुक स्टोरीमा पोस्ट गरेका थिए । त्यो मुस्कानले भरिएको तस्बिर अब उनको जीवनको अन्तिम सार्वजनिक झलक बन्यो ।
सुदीपसँगै गएकी आमा, बहिनी र ज्वाइँ भने सकुशल छन् । घटनास्थलबाट उनीहरूको उद्धार गरिएको छ।
शोकमा रूपन्देही
सुदीपको बुबा बुटवल-१४ बेलबरियामा विक्षिप्त अवस्थामा छन् । स्थानीयवासी, वडाअध्यक्ष, जनप्रतिनिधि र आमजनमानस स्तब्ध छन् । ‘शान्तिको देशबाट एक निर्दोष युवक केवल नाम र धर्मको कारण गोलीको शिकार हुनुपर्छ भने त्यो केवल आक्रमण होइन, मूल्यहरूको हत्या हो’, स्थानीय देविराम मरासिनीले भने।
रेनु पाण्डे पनि घाइते
यस घटनामा अर्की नेपाली महिला रेनु पाण्डे पनि घाइते भएकी छन् । यद्यपि उनी सुदीपकै टोलीमा थिइन् कि थिएनन् भन्ने विषय अझै स्पष्ट भएको छैन । उनको अवस्था भने स्थिर रहेको भारतीय मिडियाले जनाएको छ ।
सुदीपको मृत्यु जम्मू-कश्मीरमा भएको सन् २०१९ को पुलवामा आक्रमणपछि ठूलो आतंककारी आक्रमणमा नेपाली नागरिकको ज्यान गएको घटनाको रूपमा दर्ज भएको छ ।
पहलगाममा मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ । यस्तै १७ जना घाइते भएका छन् ।