
डडेल्धुरा । डडेल्धुराको सदरमुकाम बागबजारका गल्लीहरूमा चन्द्र सिंह धामीलाई नचिन्ने विरलै थिए । दिन होस् या रात कुनै समस्या पर्नासाथ ‘सइ धामी’ सम्झनु बानीजस्तै भएको थियो यहाँका स्थानीयका लागि ।
२०५२ साल वैशाख १३ गते, उनले पहिलोपल्ट प्रहरी पोशाक टाँग्दा, मनमा एउटै संकल्प थियो, “सेवा गर्छु, निःस्वार्थ ।”
ती संकल्पले नै उनलाई ३० वर्षपछि ससम्मान बिदाइ गराएको हो ।
३० वर्षे प्रहरी जीवनलाई ससम्मान पूर्णविराम दिएका सई चन्द्र सिंह धामी डडेल्धुरामा विशेष सम्मानसहित बिदाइ भए। जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आयोजित समारोहमा कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले उनलाई अवकाश पत्र, मायाको चिनो र कदरपत्र प्रदान गरे ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकाका धामीले २०५२ साल वैशाख १३ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । तीन दशक लामो सेवायात्रामा उनले इमान, समर्पण र जनसमर्पित शैलीमा आफ्नो परिचय बनाएका थिए । विशेषगरी डडेल्धुराको सदरमुकामस्थित बागबजार प्रहरी चौकीमा पाँच वर्ष तीन महिना ईन्चार्ज भएर काम गर्दा उनले सबैको मन जित्न सफल भएका थिए ।
"३० वर्षे सेवाको अन्त्यमा यहाँहरूको माया, सम्मान र सद्भाव पाउँदा हर्षित छु," धामीले भने, "सधैं साथ र सहयोग गर्नुहुने प्रमुख जिल्ला अधिकारीज्यू, प्रहरी परिवार, साथीभाइ र सम्पूर्ण डडेल्धुरावासीप्रति हृदयदेखि आभार प्रकट गर्दछु ।"
सधैं जनताको बीचमा रहेर काम गर्ने धामीलाई बागबजार क्षेत्रका स्थानीयले ‘जनताको प्रहरी’ भनेर चिन्ने गर्थे । दिनरात नभनी सहयोग पुर्याउने, युवाहरूसँग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर हुने, लागुऔषध तथा दुर्व्यसन नियन्त्रणमा कठोर भूमिका खेल्ने उनको कार्यशैलीले उनी सबैको प्रिय बने ।
बजार क्षेत्रमा हुने झै–झगडा तथा होहल्ला नियन्त्रणदेखि विभिन्न प्रदर्शन, आन्दोलनहरूलाई सहज तरिकाले व्यवस्थापन गर्नुमा पनि धामी सफल रहे । जनताको भावना बुझ्ने र सम्मान गर्ने कला भएका कारण, उनको आग्रहलाई प्रायः कसैले अस्वीकार गर्दैनथे ।आन्दोलनहरू आउँदा पनि उनी संवादमार्फतै समस्या समाधान गरिदिन्थे, बल प्रयोग गर्नु नपर्ने गरी ।
"डडेल्धुराको मायालु जनता र यहाँको सद्भाव म कहिल्यै भुल्ने छैन," धामीले भावनात्मक रूपमा थपे, "म सधैं यहाँका आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनीहरूलाई सम्झिरहनेछु।"
सेवा सकिए पनि, चन्द्र सिंह धामीले कमाएको ‘धन’ जनताको माया र विश्वास भने यथावत् रहने विश्वास गरिएकाे छ ।