Paschim Express
आज बैतडीको उदयदेव मन्दिरमा पशुबलिसहित जात्रा लाग्दै  

बैतडी । बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा आज  जात्रा लाग्दै छ। जिल्लाको  पाटन नगरपालिका– ६ स्थित उदयदेव मन्दिरमा हिजो  जात्रा सुरु भएकोमा आज पशुबलिसहित भव्य जात्रा लाग्दै  छ ।  


महाष्टमीका दिन मन्दिरमा रांगा लग्ने र महानवमीका दिन रांगा काट्ने चलन रही आएको छ । यसैबीच मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गरेर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ  ।  दुई  दिन मदिराको विक्रि वितरणमा रोक लगाइएको बताइएको छ । उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन बिशेष जात्रा लाग्ने गर्दछ । महानवमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको बताइएको छ ।

स्थानीय भाषामा मैतडको जात भनिने उदयदेव मन्दिरको दर्शनका लागि टाढाका भक्तजनहरु समेत मन्दिरमा आउने गरेको पण्डित लवदेव जोशीले बताए । पाटनस्थित मैतड जातमा देउडा खेल समेत हुने गरेको छ ।  महाअष्टमीको  राति र  महानवमीका दिन देउडा  खेल खेलेर भक्तजनहरु रमाइलो  गर्ने गर्दछन्  ।

 मेलालाई  भव्य रुपमा सम्पन्न गर्न  स्वंयम सेवक सहित सुरक्षाकर्मींहरु परिचालन  गरिएका छन्।  जिल्लाका विभिन्न शक्तिपीठहरुमा लाग्ने मेलालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालयले  सुरक्षा योजना बनाएर काम गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले  जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update