Paschim Express
डडेल्धुराको सिडिओमा न्यौपाने र सहायकमा खड्का हाजिर, यस्तो छ प्रतिवद्वता

डडेल्धुरा । डडेल्धुरामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा अञ्जन न्यौपाने हाजिर भएका छन् । यहाँका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको ७ महिनामै सरुवा भएसँगै नयाँ सिडिओको जिम्मेवारी लिई आएका अञ्जन न्यौपाने जिल्ला प्रशासन कार्यालय डडेल्लधुरामा हाजिर भएका हुन् । केही दिन अगाडि कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी न्यौपानेले सेवा प्रवाहलाई चुस्त बनाउने दाबी गरेका छन् । 


मंगलबार जिल्लास्थित पत्रकारसँग अन्तरक्रिया गर्दै न्यौपानेले भने, ‘मुख्य काम जिल्लाको शान्ति सुरक्षालाई व्यवस्थित बनाउने हो । त्यसमा त लाग्ने नै छौं । त्यसबाहेक आफ्नो कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र अन्य कार्यालयको सेवा नियमनमा केन्द्रीत हुने छु ।’ जिल्लाको विकास व्यवस्थापनमा पनि समन्वय गर्ने उनको धारणा थियो । 


यस्तै डडेल्धुराको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पुष्कर खड्का हाजिर भएका छन् । बाजुराको प्रमुख जिल्ला अधिकारी रहेका खड्काको डडेल्धुरा सरुवा भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी खड्काले पाएको सूचनालाई कृयाशिल बनाएर कार्यान्वयनमा लैजाने बताए । बजार अनुगमनलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउने उनको दाबी थियो । 
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update