Paschim Express
भोलि खण्डग्रास चन्द्रग्रहणः के गर्नु हुँदैन ?

काठमाडौं  । आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

ग्रहणका बेला नित्य कर्म गर्नुहुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण वि.सं. २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।

चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update